शुक्रबार, कार्तिक ७ गते २०८३

मोरङ्ग साकोसले शुरु गर्‍यो मोबाइल बैंकिङ सेवा

माघ ९, २०७८ आइतबार
मोरङ्ग साकोसले शुरु गर्‍यो मोबाइल बैंकिङ सेवा

 

मोरङ्ग जिल्लाको लेटाङ्गमा रहेको मोरङ्ग बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

सदस्यको आवश्यकता र समयको मागलाई मध्यनजर गर्दै संस्थाले मोबाइल एप सञ्चालनमा ल्याएको जनाएको छ । मोरङ्ग मोबाइल एपबाट सदस्यहरुले बैंकमा रकम ट्रान्सफरदेखि विभिन्न युटिलिटी पेमेन्ट र डिजिटल कारोबार गर्न सक्ने संस्थाका व्यवस्थापक निरज शाक्यले बताए । कोभिड महामारीले गर्दा डिजिटल कारोबार अति आवश्यक हुन गएको उनले बताए । यसको प्रयोगबाट समय, लागत र श्रोतसाधनको समेत किफायत हुने भन्दै सदस्यहरुको कारोबारलाई सहज बनाउन सघाउ पुग्ने उनले जनाए । 

मोबाइल एपको प्रयोगबाट विभिन्न बैंकहरुमा समेत रकम ट्रान्सफर गर्न सकिने हुँदा सदस्यहरुको आकर्षण बढेको उनको भनाई छ । धेरैजसो सदस्यहरुले बैंक तथा वित्तीय संस्थाको मोबाइल एप प्रयोग गरिराखेकाले आफुहरुलाई पनि यो सेवा सञ्चालन गर्न खासै समस्या नभएको उनले जानकारी दिए । मोबाइल एप प्रयोग गर्न नसक्ने सदस्यहरुलाई भने संस्थाले नै सबै कुरा सिकाएर प्रविधिको प्रयोगमा अग्रसर गराउँदै आएको छ । संस्थामा ३ हजार ६२ सदस्य आवद्ध रहेको र सदस्यहरुलाई आवश्यकताका आधारमा मोबाइल बैंकिङ्ग प्रयोग गर्न प्राथमिकता दिएको उनले जानकारी दिए । 

मोबाइल बैंकिङ्ग प्रयोग गरेवापत वार्षिक १०० रुपैया शुल्क लिने गरेको संस्थाले जनाएको छ । बैंकहरुले उक्त एप प्रयोग गरेवापत वार्षिक दुईसय भन्दामाथि शुल्क लिँदै आएको भएपनि संस्थाले भने एक सय रुपैयामा नै उक्त सेवा उपलब्ध गराएको शाक्यको भनाई छ । 

क्यूआर र मोबाइल बैंकिङ जस्ता प्रविधिको प्रयोगले ९० प्रतिशत भन्दा बढि काम गर्न सकिने हुँदा यसको प्रयोग आवश्यक रहेको उनले बताए । संस्थाको १ करोड ५० लाख शेयरपुँजी र ३० करोडको कारोबार रहेको छ । सदस्यकेन्द्रित रहेर वित्तीय कारोबार गर्दै आएको संस्थाले सहकारीप्रति सदस्यको आकर्षण दिनप्रतिदिन बढ्दै गएको जनाएको छ । संस्थाले सदस्यहरुलाई समयसमयमा सहकारीका आधारभूत विषयका बारेमा पनि तालिम दिँदै आएको छ । 

morang saccos bank.jpg