प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले १०९० महिला सदस्यलाई संस्थामा आवद्ध गराई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले महिला सदस्यहरुको आयस्तर उकास्नका लागि स्थापनाकालदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
संस्थाको हालै सम्पन्न १९औं वार्षिक साधारणसभामा संस्थाकी अध्यक्ष धनकुमारी श्रेष्ठको सभापतित्व र कास्कुनका अध्यक्ष दिपक पनेरूकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । अध्यक्ष श्रेष्ठले आफ्ना सदस्यहरुलाई निरन्तर वित्तीय सेवा उपलब्ध गराई सदस्यहरुको आर्थिक सामाजिक उत्थानमा भूमिका खेल्दै आएको बताइन् । सदस्यहरुलाई आत्मनिर्भर बनाउनका निम्ति संस्थाले विभिन्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको सो अवसरमा उनले जानकारी दिइन् । संस्थाकी सचिव पार्वती कार्कीले गत आर्थिक वर्ष २०७७।७८ को प्रगति प्रतिवेदन एवं चालु आ.व.को प्रस्तावित कार्यक्रम तथा बजेट सभामा प्रस्तुत गरेकी थिइन् ।

संस्थाले यस आ.व.मा स्वास्थ्य परामर्श, रक्तदान, समुहमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता, तालिम तथा गोष्ठी र सहकारी सिकाइका लागि अवलोकन भ्रमण जस्ता कार्यक्रम गर्ने योजना राखेको छ ।
संस्थाकी कोषाध्यक्ष सिर्जना दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी १ करोड ११ लाख ८९ हजार, ७ करोड ९४ लाख बचत संकलन र ऋण लगानी ७ करोड ८२ लाख ४३ हजार रहेको सभामा जानकारी दिइन् । संस्थाको जगेडा तथा अन्य कोषहरुमा ६१ लाख ७६ हजार रकम रहेको छ भने जोखिम व्यहोर्ने कोषमा २४ लाख ८० हजार रहेको छ भने २२ लाख ४८ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस अवधिमा संस्थाले ९ कराेड ९८ लाख ६२ हजार कुल काराेबार गर्न सफल भएकाे छ । संस्थाले सरल र सहज ब्याजदरमा सदस्यहरुमाझ ऋण प्रवाह गर्दै आएको छ ।
