शनिबार, आश्विन १७ गते २०८३

समुदायका बाहिरका सहकारी दर्ताका लागि सिफारिस दिने गरेको छैन: मेयर मिश्र

माघ ५, २०७८ बुधबार
समुदायका बाहिरका सहकारी दर्ताका लागि सिफारिस दिने गरेको छैन: मेयर मिश्र


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “वर्तमान सहकारी अभियान” विषयक नगरस्तरिय गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा मन्तब्य राख्दै प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले स्थानीय समुदायलाई बाहेक अरुलाई सहकारी दर्ता र सेवा केन्द्र खोल्न नगरपालिकाले शिफारिस नगरेको बताए । सहकारी दर्ताको लागि जति दबाब आएपनि सहकारी समुदायको भएकोले समुदायकैै व्यक्तिले समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको लागि सञ्चालन हुनुपर्नेमा नगरपालिकाको जोड रहेको उनले बताए ।

त्यसै अनुरुप नगरपालिकाले सहकारी संस्थालाई कुनै पनि कर नलगाएको उनले बताए । सहकारी संस्थाले बचत संकलन र ऋण लगानी गर्ने कामबाहेक उत्पादनमुलक काममा जोड दिई सहकारीले उत्पादन, रोजगारी श्रृजना, पुँजी परिचालन लागयतको क्षेत्रमा योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

नेफ्स्कूनका संचालक मन्दरा मिश्रले सहकारी क्षेत्रमा आआफ्नो अधिकार क्षेत्र भित्र रहेर काम गर्नुपर्ने कानुनी बाध्यात्मक स्थिति रहेकोले बचत तथा ऋण सहकारीले बचत संकलन र ऋण लगानी बाहेक अरु काम गर्न नसकेको उल्लेख गरिन् । जुन उद्देश्यले सहकारी दर्ता भएको त्यो कार्य नगरी सबैले बचत तथा ऋणकै कार्य गर्नाले अन्य क्षेत्रमा सहकारीको योगदान पुग्न नसकेको उनको धारणा थियो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वर्तमान सहकारीको समस्या तथा समाधानका लागि संघको पहल विषयमा कार्यत्रपत्र प्रस्तुत गर्दै सहकारी संस्थामा तरलता संकट हुन सक्ने सम्भावनालाई ध्यानमा राखि सचेत हुनुपर्ने बताए ।  समुदायमा आधारित भई सुशासनमा संचालन भएका सहकारी संस्थाहरुमा तरलताको समस्या कम हुने उनको राय थियो ।  

संघका उपाध्यक्ष हरि बल्लले हालको बर्तमान सहकारी अभियानका समस्या तथा चुनौती पहिचान गरी समाधानका लागि सबै एकजुट हुन गोष्ठी आयोजना गरेको जनाए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघका सेवा सुविधा र गतिविधिबारे प्रस्तुत गर्दै बैंकले ऋण दिन नसक्दा सहकारीमा ऋणको माग बढेको बताउँदै सहकारीले पनि तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

गोष्ठीमा सहभागीहरुबाट प्रस्तुत कार्यपत्र माथि एकवद्धता प्रकट गर्दै सहकारी संस्थाहरुको सहजीकरणको लागि मालपोत कार्यालय र आन्तरिक राजस्व कार्यालयमा सहकारी हेल्प डेस्क राख्न सुझाव दिए ।

सभापति संघका सञ्चालक एवम् उपसमितिका संयोजक सन्तोषी खतिवडाले गोष्ठीमा प्रस्तुत कार्यपत्रका आधारमा छलफलबाट प्राप्त निष्कर्ष सहित गोष्ठीले विभिन्न ७ बुँदें घोषणा गरिएको थियो ।