विश्वमा बढिरहेको धनी र गरिबबीचको विषमता ‘आर्थिक हिंसा’ भएको अक्सफाम इन्टरनेशनलले जनाएको छ ।
‘ इनइक्वेलिटी किल्स ’ शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै अक्सफामले उक्त कुरा बताएको हो । प्रतिवेदनका अनुसार बढ्दो विषमताका कारण हरेक दिन कम्तिमा २१ हजार मानिसहरू जीवन गुमाउन विवश भएको अक्सफामले जनाएको छ ।
वर्तमान विश्वमा यसप्रकारको असीम विषमताको गरिब राष्ट्र र जनताहरुमाथिको ‘आर्थिक हिंसा’ नै भएको अक्सफामले जनाएको छ । धनी र प्रभावशालीहरुले संरचनागत र प्रणालीगत नीति तथा राजनीतिक रोजाई आफ्नो पक्षमा पार्ने गरेको अध्ययनमा भनिएको छ । कोरोनाविरुद्धको भ्याक्सिनमा भएको विभेद यसको दरिलो उदाहरण भएको अक्सफामले जनाएको छ ।
विश्वका धनी दश व्यक्तिको सम्पत्ति कोरोना भाइरस महामारीका दौरान दोब्बर भएको छ । ती १० जनाको सम्पत्ति निर्धन ३ अर्ब १० करोड मानिसको सम्पत्ति बराबर रहेको तथ्यांक रहेको छ ।
‘वर्तमान समयका यी विभाजनहरू दासत्व र औपनिवेशिकता लगायत जातिवादको ऐतिहासिक विरासतसँग प्रत्यक्ष रूपमा जोडिएका छन्,’ अक्सफामको प्रतिवेदनमा भनिएको छ ।
महामारीका यी दुई वर्षमा विश्वभरका ९९ प्रतिशत मानिसको आय खस्किएको छ भने १६ करोड थप मानिसहरू गरिबीको रेखामुनि धकेलिएका छन्।अक्सफामको प्रतिवेदन अनुसार विश्वका धनाढ्यहरूको सम्पत्ति पछिल्लो १४ वर्षमा भन्दा बढी कोभिड महामारी शुरू भएयता बढेको हो।
अक्सफामका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक गाब्रिएला बुचरले भनेका छन्, ‘संसारका सबैभन्दा गरीब तीन अर्ब १० करोड मानिससँग भन्दा ६ गुणा बढी सम्पत्ति छ।’
अक्सफामले उद्धृत गरेको फोर्ब्सको तथ्याङ्कअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिमा इलोन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जकरबर्ग, स्टीभ बाल्मर र वारन बफेट छन्।
मार्च २०२० देखि अक्टोबर २०२१ सम्म सबैभन्दा धेरै सम्पति एलन मस्कको बढेको छ। विद्युतीय कार कम्पनी टेस्लाका संस्थापक मस्कको सम्पत्ति महामारी शुरू भएको शुरूआती २० महीनामा एक हजार १६ प्रतिशतले बढेको जनाएको छ। फलस्वरूप उनको कूल सम्पत्ति दुई खर्ब ९४ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ।