शनिबार, आश्विन १७ गते २०८३

बस्नै छाड्यो सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक, सहकारीहरु भने तरलताको सकसमा

पौष ३०, २०७८ शुक्रबार
बस्नै छाड्यो सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक, सहकारीहरु भने तरलताको सकसमा

 

सहकारीमा तरलताको चाप परिरहेका बेला सन्दर्भ व्याजदर निर्धारण समितिको बैठक भने बारम्बार स्थगन हुँदै आएको छ । यस अघि पुष २१ गते र आजका लागि तोकिएको बैठक समेत बस्न सकेन । बजारमा तरलताको स्थिति सहज बन्दै गएको भन्दै सरकारी पक्षले बैठक स्थगन गर्दै आएका छन् । तर यता बजारमा भने सरकारी पक्षले भनेजस्तो तरलताको सहजता अवस्था नरहेको सहकारीकर्मी बताउँछन् । राष्ट्र बैंकले बजारमा २–३ खर्ब प्रवाह गरेसँगै तरलता अवस्था सहज बन्दै गएको सरकारी पक्षको दावी छ । तर उक्त रकम राजश्व वापत पुन सरकारी ढुकुटीमा नै जाने हुँदा त्यसले तरलता व्यवस्थपनमा सघाउ पुराउन नसक्ने देखिएको छ । 

नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल अर्थ मन्त्रालय र राष्ट्र बैंक सन्दर्भ ब्याजदर घटाउने पक्षमा नरहेको र अझ बढाउनुपर्छ भन्दै आएको बताउँछन् । बजार व्यवस्थापन प्रणाली सहज भएको भन्दै उनीहरुले ब्याजदर बढाउन नहुने बताएपनि बजारमा अझै तरलता अभाव रहेको पौडेलको भनाई छ । ‘अवस्था स्थिरतातर्फ उन्मुख भएको देखिँदैन, समस्या लामो समय जानसक्ने देखिन्छ’ उनले भने ‘हाल कायम सन्दर्भ ब्याजदर दुई प्रतिशत बढाउनुपर्छ भन्ने प्रस्ताव मेरो हो, घटाउने विषयमा हाम्रो मञ्जुरी छैन ।’ ‘बढ्दा बढ्ने र घट्दा घट्ने परिपाटीको विकास गर्न जरुरी छ,’ उनले थपे, ‘अहिले बजारमा पैसाको चक्र पूरा हुन सकेकै छैन, अवस्था जस्ताकोतस्तै छ ।’

त्यसैगरी भक्तपुर बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु सहकारीहरुले तरलता व्यवस्थापनका लागि सञ्चित गरेको रकममध्ये ७० प्रतिशत बैंक तथा वित्तीय संस्थामा र ३० प्रतिशत सहकारी अभियानभित्रका संघ तथा बैंकमा रहेको अध्ययनले देखाएको बताउँछन् । निजी बैंकमा सहकारी निर्भर हुँदा यो समस्या आएको उनको भनाई छ । सहकारीको पैसा अभियान भित्रै भनिए पनि त्यसको कार्यान्वयन हुन नसकको उनले औंल्याए । बैंकहरुले आफुहरुसँग बढि तरलता हुदा निक्षेप नलिने तर अभाव हुँदा हात जोड्न आउने गरेको उनले बताए । बैंकहरुले सहकारीलाई आवश्यक पर्दा ऋण तथा अन्य कुनै सुविधा नदिने हुँदा अभियानभित्रका छाता संघ तथा सहकारी बैंकसँग कारोबार यस्तो समस्या कम हुने बताए । 

संघले तत्कालका लागि जग्गा खरिद र घर निर्माण जस्ता अनुत्पादक क्षेत्रमा ठूलो ऋण लगानी नगर्न र ससाना ऋण मात्र प्रवाह गर्न संस्थाहरुलाई सुझाएको उनले बताए । भक्तपुरका सहकारीहरु मा अहिलेसम्म १४.७५ प्रतिशत ब्याजदर भएपनि टिकिरहेको तर निजी बैंकहरुले ब्याजदर बढाउँदै जाने हो भने सन्दर्भ व्याजदर पुनरावलोकन गरी १६ प्रतिशतसम्म पु¥याउनु उचित हुने उनको भनाई छ । ‘ऋण लगानीमा भन्दा पनि बचतमा दिइने ब्याजको सीमा तोकिदिएको भए सहकारी क्षेत्रमा समस्या आउने थिएन उनले थपे,’ ‘अहिले पनि कतिपय बजारिया सहकारीले १५–१६ प्रतिशत ब्याजदरमा पैसा उठाइरहेका छन् ।’

त्यसैगरी काभ्रेपलाञ्चोक बचत संघका अध्यक्ष जितेन्द्र नकर्मी सहकारी संस्थहरुमा भएको १५–२० प्रतिशतको तरलता घटेर अहिले ८–९ प्रतिशतमा झरेको बताउँछन् । ‘बैंकहरुले कात्तिक १ गते देखि नै  निक्षेपमा नयाँ स्किम ल्याए र राम्रो ब्याज दिए । तर सहकारीले समयमा नयाँ स्किम ल्याउन सकेनन् जसका कारण सहकारीको पैसा बैंकमा गयो ।’ उनले थपे, ‘ संघले पनि तरलता व्यवस्थापन उपसमिति नै बनाएर काम गरिरहेको छ । बचतलाई बाहिरिन नदिन ब्याजलाई समायोजन गरेको र तरलता व्यवस्थापनका लागि घरदैलोमा अभियान गरिरहेका छौं ।’ संघको ४ वटा बैंकमा रहेको १४ करोड रुपैया यहि महिना परिपक्व हुने भएकाले यसले पनि तरलता व्यवस्थापनमा सघाउने उनले बताए । हालका लागि ऋण लगानी गर्न बन्द रहेको र पौष मसान्तमा मात्रै १ करोड ५० लाख ऋणको किस्ता असुली भएकोले राहत भएको उनको भनाई छ । अहिलेको अवस्थामा सन्दर्भ ब्याजदर परिमार्जन आवश्यक भएपनि कार्यान्वयन फितलो हुँदा त्यसको प्रभावकारिता कम देखिएको उनले जनाए । ‘संघमा आवद्ध नभएका संस्थाहरुले सन्दर्भ व्याजदर लागु गरेका छैनन्,’ उनले थपे, ‘बचतमा नै १५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । ती संस्थाहरुले सन्दर्भ ब्याजदर मान्ने कुरै भएन ।’ सन्दर्भ ब्याजदर सबैले पालन गर्ने हो भने पनि तलरता समस्या कम गर्न सकिने उनको भनाई छ । 

यता बैंकहरुले निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिएका कारण सहकारी पैसा बाहिरिएको सहकारीकर्मीको भनाई छ । सहकारीको सन्दर्भ ब्याज परिमार्जन नगरी बचतमा बैंकसरह ब्याज दिन नसकिने हुँदा सन्दर्भ ब्याजदर परिवर्तनको माग गरिएको उनीहरुको भनाई छ ।