अघिल्लो वर्ष ११ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाह यस आवमा ६.८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आ.व.को ५ महिनाको आर्थिक विवरण अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई रु. ३८८ अर्ब ५८ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।
पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीका बाहिरिनेको संख्या भने बढेको छ । संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३१,०८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।
चालु खाता एवम् शोधनान्तर
यस अवधिमा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई रु.४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई रु.७ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ५० करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०७८ असार मसान्तमा रु. १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा रु.१२१४ अर्ब ३ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी आई रु.१०८४ अर्ब ६४
करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई रु.१२९ अर्ब ४० करोड कायम भएको छ । यस अवधिको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।