शुक्रबार, कार्तिक ७ गते २०८३

चन्द्रागिरि साकोसको २०औं साधारण सभा सम्पन्न, २ अर्ब ७२ कराेडकाे वासलात

पौष २५, २०७८ आइतबार
चन्द्रागिरि साकोसको २०औं साधारण सभा सम्पन्न,  २ अर्ब ७२ कराेडकाे वासलात

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

बाग्मती प्रदेश, कृषि तथा पशुपंक्षी मन्त्री माननीय बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष योगेन्द्र बहादुर कुँवरको सभापतित्वमा शनिवार सभा सम्पन्न भएको हो ।

संस्थाले भौगोलिक क्षेत्र र सदस्यता नम्बरको आधारमा विभिन्न ईकाईहरुमा उपस्थिति सभा गरी निर्णयका लागि चुनिएका सदस्यहरुको उपस्थितिमा निर्णय प्रमाणिकरण सभा गरेको हो । 

वार्षिक साधारण सभामा कायम रहेको कुल सदस्य संख्या १४२२६ जना मध्ये १०६६३ जना सदस्यहरुले उपस्थिति सभामा आफ्नो उपस्थिति दर्ता गरी वार्षिक प्रतिवेदन र संस्थाका सेवाहरुका बारेमा आफ्ना सल्लाहसुझाव राखेको संस्थाले जनाएको छ । 

सभामा बोल्दै प्रमुख अतिथि हुमागाईले सहकारी संस्था दिगो हुनको लागि त्यसमा कार्यरत कर्मचारी, त्यसका सञ्चालक र सदस्यहरु सक्रिय हुनु पर्ने कुरामा जोड दिँदै उत्पादनमुलक क्षेत्रमा सहकारीका सेवाहरु केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे । त्यसैगरी किसानहरुले सधैं भोग्दै आउनु परेको रासायनिक मलको समस्या समाधानको लागि आफ्नो मन्त्रालयले गुरुयोजना बनाएर अगाडि बढिरहेको उनले बताए । 

विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारी र स्थानीय तहको सम्बन्ध र आफ्नो कार्यकालमा चन्द्रागिरि नगरपालिकामा भएका विकास निर्माण र प्रगतिका बारेमा उल्लेख गरेका थिए । 

साधारण सभाले अध्यक्ष योगेन्द्रकुमार कुँवरद्वारा प्रस्तुत आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठद्वारा प्रस्तुत आ.व.२०७८/०७९ नीति तथा कार्यक्रम र बजेट र ए श्रेष्ठ तथा एशोसिएट्सको चार्टर्ड एकाउन्टेन्ट आनन्द श्रेष्ठद्वारा पेश भएको लेखापरीक्षण प्रतिवेदनका साथ विभिन्न १३ वटा प्रस्तावहरु पारित गरेकाे छ ।

संस्थाले गत असार मसान्तसम्म २ अर्ब ७२ कराेड ६९ लाख ८१ हजारकाे कुल वासलात बनाउन सफल भएकाे छ । साे अविधसम्म संस्थाकाे शेयरपुँजी १६ कराेड १३ लाख ८० हजार, जगेडा तथा अन्य काेषहरूमा ९ कराेड ६४ लाख, बचत संकलन २ अर्ब २१ कराेड २४ लाख र ऋण लगानी १ अर्ब ७३ कराेड ८५ लाख रहेकाे भने खुद नाफा २ कराेड ९८ लाख ९७ हजार नाफा कमाएकाे छ । 

गत साल उपाध्यक्ष सूर्यनारायण मानन्धरको निधन भएकोले रिक्त रहेको उपाध्यक्ष पदमा संस्थाका सदस्य हरिहर सिग्देललाई निर्वाचित गरेका छ ।