शनिबार, आश्विन १७ गते २०८३

नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन  सरकार संवेदनशील छः मन्त्री आले

पौष १८, २०७८ आइतबार
नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन  सरकार संवेदनशील छः मन्त्री आले

 

काठमाडौं,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् । 

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएको भन्नुहुँदै ती विधेयक छिट्टै पारित गराउने बताए ।  ‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौँ,’ उहाँले भन्नुभयो, ‘यी विषयमा सरकार संवेदनशील छ ।’ मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको जानकारी गराए । 

मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पु¥याइएको पनि उल्लेख गरे । ‘कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ, त्यसलाई पनि छिट्टै जारी गर्छौँ,’ मन्त्री आलेले भर्ने । उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी गराए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा जोड दिए । कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोज समेत छिटो लगाउने प्रबन्ध मिलाउन उनले आग्रह गरे ।

अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरोत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गरे ।  बंगलादेशका लाखौँ पर्यटक नेपाल भित्र्याउने गरी दुई पक्षीय सम्झौता गरेर अघि बढ्न पनि सरकारसँग उनले माग गरे आग्रह  । भेटमा परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, परिसंघका राष्ट्रिय परिषद सदस्य एवं प्रदेश नं १ का अध्यक्ष भीमप्रसाद घिमिरे, परिसंघ पर्यटन समितिका सदस्य हिक्मत सिंह ऐर र परिसंघका महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।