भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि।को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “वर्तमान सहकारी अभियान” विषयक भक्तपुर नगरस्तरिय गोष्ठि सम्पन्न भएको छ। गोष्ठिका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको स्विकृत विना संचालित प्रदेशस्तरिय बहुउद्देश्यीय सहकारी संस्थाहरुको अनुगमनलाई जोड दिदै अनियमित ढंगले संचालित यस्ता संस्थाहरुलाई कानुनको दायरामा ल्याइने बताए ।
गोष्ठीमा उनले भक्तपुरमा नमुना सहकारी संचालन गर्न सहकारीकर्मीहरुलाई प्रेरित गरिने बताउ । सहकारी ऐन तथा कानुनहरु व्यापक जनताको हितमा भए कार्यान्वयन पक्ष बलियो हुने बताउदै प्रमुख प्रजापतिले सहकारीहरुले सदस्यहरुको सिर्जनशीलतालाई ध्यानमा राखी सिपमूलक तालिमहरु संचालन गरी रोजगारी सिर्जना तर्फ ध्यानदिनुपर्ने बताए।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वर्तमान सहकारीको समस्या तथा समाधानका लागि संघको पहल विषयमा कार्यत्रपत्र प्रस्तुत गर्दै सहकारी संस्थामा तरलता संकट हुन सक्ने सम्भावनालाई ध्यानमा राखि सचेत हुनुपर्ने बताए। सुशासनमा संचालन भएका सहकारी संस्थाहरुमा तरलताको समस्या कम हुने बताउदैं उनले कानुन विपरित संचालित बहुउद्देश्यीय सहकारीहरु संचालनमा रोक लगाउनुपर्ने, एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने र मालपोतमा ३० लाखसम्मको रोक्का दस्तुर रु ५०० सय बाट रु८ हजार सम्म बृद्धि गरेकोमा विरोध जनाए । सहकारी संघसंस्थाको विचको कारोबारमा अग्रिम व्याजकर १५ प्रतिशतको व्यवस्था अन्यायपूर्ण र व्यवहारिक नभएको उनको भनाइ छ ।
संघका उपाध्यक्ष हरि बल्लले हालको वर्तमान सहकारी अभियानका समस्या तथा चुनौती पहिचान गरी समाधानका लागि सबै एकजुट हुन गोष्ठि आयोजना गरेको बताए । सहकारी अभियानले देशको आर्थिक, सामाजिक र संस्कृतीक विकासमा यथोचित टेवा पु¥याइएको उनको भनाइ छ । संघका व्यवस्थापक बालकृष्ण धोजु संघका सेवा सुविधा र गतिविधिबारे प्रस्तुत गरेका थिए। हालको तरलता संकट राज्यबाट पुँजीगत खर्च नहुन, निर्यात भन्दा आयात बृद्धि हुनु, रेमिट्यान्स घट्नु, बैदेशिक सहयोग प्राप्त नहुनु र बैंक वित्तीय संस्थाको सीडि रेसियो बढ्नुका कारणले देखिएको उनले बताउ। बैंकले ऋण दिन नसक्दा सहकारीमा ऋणको माग बढेको बताउँदै सहकारीले पनि तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए । संघले संस्थाको तरलता व्यवस्थापनका लागि ३ महिने र १ बर्षे तरलता व्यवस्थापन ऋणको व्यवस्था गर्दै आएको छ ।
गोष्ठिका सभापति संघका सचिव एवम् उपसमितिका संयोजक जगनाथ प्रजापतिले गोष्ठिमा प्रस्तुत कार्यपत्रका आधारमा छलफलबाट प्राप्त निष्कर्ष बमोजिम ६ बुदें घोषणा जासर गरे । गोष्ठिमा भक्तपुर नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी १०८ जनाको सहभागिता रह्यो । गोष्ठिको संचालन उसमितिका सदस्य राजन जतिले गरेका थिए ।
“वर्तमान सहकारी अभियान” बिषयक एक दिने गोष्ठी २०७८ ले पारित गरेको ६ बुदें घोषणा
१ सहकारी ऐनमा एक व्यक्ति एक सहकारीको व्यवस्था अन्तराष्ट्रिय सहकारी सिद्धान्त र नेपालको संविधान २०७२ को धारा १७ को उपधारा २ बमोजिम प्रतिकूल रहेको ठहर गर्दै खारेज वा संशोधनका लागि माग गर्दछौं ।
२ सहकारी ऐनमा भएको कालो सूचीको व्यवस्था, कर्जा सूचना केन्द्रको स्थापना र कर्जा असुली न्यायधिकरणको स्थापना कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दछौं ।
३ नगरपालिका क्षेत्रमा सहकारीको आयकर ५ प्रतिशत हुँदा पनि सहकारी संघ संस्थाको कारोबारमा व्याजमा अग्रिमकर १५ प्रतिशत नै कायम गर्नु न्यायोचित नभएको ठहर गर्दै सहकारी संघ संस्था विचको कारोबारमा अग्रिम व्याजकर हटाउनुपर्ने वा संशोधनका लागि सम्बन्धित निकायमा पहल गर्न प्रतिबद्ध छौं ।
४ प्रदेश सरकारले प्रदेशकै कानुन विपरित बहुउद्देश्यीय सहकारी दर्ता भएका संस्थामा रकम जम्मा नगर्न सदस्यरुलाई अनुरोध गर्नुको साथै कानुन विपरित नगर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने र स्थानीय तहसंग समन्वय गर्न प्रतिबद्ध छौं ।
५ वर्तमान तरलता संकटको समाधान गर्न ठूलो लगानीलाई स्थगित गरी सानो ऋणलाई मात्र प्राथमिकताका आधारमा ऋण लगानी गर्न प्रतिबद्ध छौं ।
६ सहकारीमा तरलता संकट आउन नदिन सहकारीको पैसा सहकारीमा भन्ने नारा अनुसार सहकारी संस्थाहरुले जिल्ला बचत तथा ऋण सहकारी संघमा अन्तरलगानी कारोबार बढाउन प्रतिबद्ध छौं ।