नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीका कारण संघले बहुउद्देश्यीय सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका लागि काम गर्न नसकेको आरोप लागेको छ ।
काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले केन्द्रिय संघको भूमिकाको विषयमा आवाज उठाएपछि अध्यक्ष भण्डारीकै कारणले संघले गति लिन नसकेको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै केन्द्रिय संघका सचिव माधव तिमल्सिनाले अब्बल रुपमा प्रारम्भिक संस्था सञ्चालन गर्नेहरुले संघमा सञ्चालकको रुपमा प्रतिनिधित्व गरेको भएपनि अध्यक्ष भण्डारी र व्यवस्थापक सन्ध्या श्रेष्ठको मनोमानिका कारण आफुहरुले चाहेर पनि केहि गर्न नसकेको उल्लेख गरे । संघभित्रको विवादलाई बाहिर ल्याउनु हुँदैन र भित्र नै निराकरण गरेर जानुपर्छ भनेर आफुहरु संयमित भएर बसेको तर अध्यक्ष भण्डारीले एकलौटी ढंगले हरेक निर्णय गर्दै गएको उनले जनाए । अध्यक्षको असक्षमताका कारण मुलुकभर रहेका ५००० बहुउद्देश्यीय सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका लागि आफुहरुले चाहँदाचाहँदै पनि काम गर्न नसकेको उनले स्वीकारे ।
‘नयाँ सहकारी ऐनले ३० र ७० को व्यवस्था गरेको छ । तर अहिले कानुनभन्दा बाहिर रहेर काम गर्नुपरेको अवस्था छ,’ उनले थपे, ‘ऐन संशोधन लगायतका बहुउद्देश्यीयका थुप्रै मुद्दाहरुमा अध्यक्षले खेल्नुपर्ने भूमिका खेलेनन् । आगामी पौष २९ गते हुने संघको निर्वाचनको सहितको साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गर्न नसके संघको अवस्था दयनीय बन्दै जानेछ ।’ संघमा भिजनसहितको नयाँ नेतृत्व चयन गर्नसके आगामी ४ वर्ष भित्रमा बहुउद्देश्यीय सहकारीका थुप्रै मुद्दाहरुलाई सल्टाइ सहकारी अभियानमा बहुउद्देश्यीयको उचाई बढ्ने उनले बताए । संघको सबल नेतृत्वको लागि आफुले पनि अध्यक्ष पदमा उमेदवारी दिन लागेकाले विवेक पु¥याएर मतदान गर्न सबैसँग उनले आग्रह गरे ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै बहुउद्देश्यीय संघकी सञ्चालक पार्वती थापामगरले सहकारीकर्मीहरु एकै ठाउँमा एकमत भएर उभिन नसक्दा राज्यले अभियानको कुरा नसुनेको बताइन् । केन्द्रिय बहुउद्देश्यीय संघमा सदस्यता लिन संस्थाहरुले कुल पुँजीको ५ प्रतिशत बराबरको शेयर किन्नुपर्ने व्यवस्थालाई हटाउन आफुहरुले आवाज उठाएको भएपनि अध्यक्ष भण्डारीकै कारण थ्रेसहोल्ड घटाउन नसकिएको उनले जनाइन् । अध्यक्ष भण्डारीले झोले संस्थाहरुलाई संघको सदस्य बनाउँदा संघको गरिमा घट्ने भन्दै कुल पुँजीको ५ प्रतिशत अनिवार्य शेयर किनेपछिमात्रै सदस्य दिन सकिने व्यवस्था गराएको उनको भनाइ छ । धेरै संस्थाहरु सदस्य हुँदा अध्यक्ष भण्डारीको एकाधिकार तोडिने भएकाले उनले यस्तो बन्देज लगाएको थापामगरले बताइन् । केन्द्रिय संघ सञ्चालनमा आएको १० वर्ष बित्दासमेत सदस्य संस्थाहरुलाई कुनै लाभांश दिन नसकेको र भण्डारीकै कारण संघ घाटामा रहेको उनले दावी गरिन् ।
अध्यक्ष भण्डारी संघलाई सबल बनाइ नाफामा लानु भन्दापनि आफ्नो वर्चश्व कायम गर्ने अभिप्रायबाट सञ्चालित रहेको आरोप उनको छ । भण्डारीकै आदेशमा संघकी व्यवस्थापक श्रेष्ठले राष्ट्रिय सहकारी महासंघका सदस्यका विरुद्ध अख्तियार दुरुपयोगमा उजुरी हालेको र त्यसका विरुद्धमा समेत आफुहरुले आवाज उठाएको बताइन् । अध्यक्ष भण्डारीले डेढ वर्षमा एक पटक मात्रै सञ्चालक समितिको बैठक बोलाएको र त्यसमा आगामी साधारण सभाको विषयमा कुनै एजेण्डा नराखेको उनले जनाइन् । व्यवस्थापक अध्यक्षका गतिविधिको साक्षी मात्र रहेको र नयाँ बैंक खोल्नका लागि ५०० संस्थाको फाइल संकलनमा मात्र सहयोग पु¥याएको उनले बताइन् । आफुहरु नयाँ बैंक खोल्न हुँदैन भन्ने पक्षमा नरहेको तर सञ्चालक समितिसँग छलफल नै नगरी मनोमानि ढंगले फाइल संकलन गर्नु गलत नियत भएको उनको तर्क छ । संघ लालिगुराँस बहुउद्देश्यीयको शाखाको रुपमा चलाइएको भन्दै उनले संस्थामा पैसा बढि हुँदा संघमा लैजाने र संस्थालाई आवश्यक पर्दा संघबाट ल्याउने मात्र गरिएकाले संघ कहिल्यै नाफामा नगएको उल्लेख गरिन् ।
हालकै नेतृत्वले संघलाई अघि बढाउन कदापि नसक्ने भन्दै उनले आफु पनि त्यहाँ बसेर किनारको साक्षी मात्र हुनुपरेको गुनासो गरिन् । बहुउद्देश्यीय संस्थाका मुद्दाहरुमा राज्यसँग लबिइङ हुन नसक्नुमा अध्यक्ष भण्डारीकै कमजोरी रहेको र उनकै कारण संस्थाहरुको स्तर उकास्न र संघको अस्तित्वलाई जोगाइराख्न समेत हम्मे भएकाले नयाँ नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरिन् ।
कार्यक्रममा कान्तिपुरी बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवं जिल्ला सहकारी संघ, काठमाण्डौका महासचिव मनोज भण्डारीले यस्तै नेतृत्व रहेसम्म केहिवर्ष भित्र बहुउद्देश्यीय संघको अस्तित्व नै मेटिन सक्ने बताए । अब आउने नयाँ नेतृत्वले् बहुउद्देश्यीय सहकारी संस्थाहरुको समस्या समाधान गर्न ध्यान नदिए धेरै संस्था बचत तथा ऋणमा परिणत हुने र बहुउद्देश्यीय प्रकृतिको अस्तित्वनै समाप्त भएर जाने उनले औल्याए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. वी. उप्रेतीको प्रमुख आतिथ्य एवं काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापाको सभापतित्वमा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको सञ्चालन संघका सचिव महाशंकर रेग्मीले गरेका थिए । कार्यक्रममा सहभागिहरुले ७०, ३० को व्यवस्था, तरलता अभावको स्थिति र सन्दर्भ ब्याजदरका विषयमा समेत आवाज उठाएका थिए ।