शुक्रबार, कार्तिक ७ गते २०८३

ताल्चा बहुउद्देश्यीयको साधारणसभा सम्पन्न, कृषिमा लगानीका लागि सम्भाव्यता अध्ययन गर्दै

पौष १४, २०७८ बुधबार
ताल्चा बहुउद्देश्यीयको साधारणसभा सम्पन्न, कृषिमा लगानीका लागि सम्भाव्यता अध्ययन गर्दै

 

काठमाण्डौको न्यूरोडमा रहेको ताल्चा बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रन्जित सापकोटाले सभालाई सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीका कारण सम्पूर्ण आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भएको र महामारीबाट बच्न सरकारले गरेको लकडाउनका कारण सहकारी क्षेत्र समेत प्रभावित भएतापनि राज्यबाट यसको पुनरुत्थानका लागि कुनै प्याकेज नआएको बताए । संस्था बहुउद्देश्यीय भएकाले कृषि क्षेत्रमा लगानीका निम्ति अध्ययन अनुसन्धान भइरहेको उनले जनाए ।

संस्थाका लेखासमिति संयाेजक बालकृष्ण ढुंगानाले आ.व. २०७७।७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी ऐन तथा नियमावली अनुसार संस्थाले बचत संकलन, ऋण लगानी र असुली लगायत वित्तीय कारोबार गरी आम्दानी तथा खर्चको विवरण पारदर्शी ढंगले प्रकाशित गर्दै आएको जनाए । सदस्यको हित हुनेगरी संस्थाले कार्यक्रम अगाडि बढाएको र कारोबार सन्तोषजनक रहेको समेत उनले उल्लेख गरे । संस्थाले १४१७ सदस्यबाट ८९ लाख ५१ हजार शेयरपुँजी, ३ करोड ६१ लाख २४ हजार बचत संकलन गरेको छ । त्यसैगरी संस्थाले ३ करोड ४२ लाख ९९ हजार ऋण लगानी गरी ४ लाख २३ हजार खुद नाफा आर्जन गरेको छ । संस्थाका लेखासमिति संयोजक बालकृष्ण ढुंगानाले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संस्थाले सदस्यहरुबाट क्रमिक, साधारण, विशेष, नारी, बाल, कर्मचारी, आवधिक र अन्य शीर्षकमा बचत संकलन गर्दै आएको छ । संस्थाले सदस्यको माग र आवश्यकता अनुसार उनीहरुको  आयस्तर वृद्धिका लागि विभिन्न शीर्षकमा ऋण लगानी समेत गर्दै आएको जनाएको छ ।  

talcha 2.jpg