एम्स बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निरोज प्रसाद ढुंगानाको सभापतित्वमा सम्पन्न सभाले आर्थिक तथा वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले सहकारीका माध्यमबाट आफ्ना सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका निम्ति संस्था क्रियाशील रहेको बताए । समाजमा छरिएर रहेको सदस्यको ससानो रकमलाई बचतको रुपमा संकलन गरी सरल एवं सुलभ ब्याजदरमा ऋण प्रवाह गरी उनीहरुको जीवनस्तर माथि उठाउन संस्थाले अग्रणी भूमिका खेल्दै आएको उनको भनाई छ ।
राज्यले सहकारीलाई पनि आर्थिक विकासको मेरुदण्डको रुपमा स्वीकार गरिसकेकाले सोही अनुरुप सहकारीहरुले आर्थिक उन्नतिका लागि आफ्नो भूमिकालाई बढाउनु आजको आवश्यकता भएको उनले बताए । नयाँ सहकारी ऐनले एक व्यक्ति एक सहकारीको अवधारणा ल्याउँदा यसले सहकारी क्षेत्रलाई नै समस्यामा पारेको उनले बताए । संस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आवश्यकता अनुसार शेयरपुँजी वृद्धि गर्दै जाने, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सदस्यहरुलाई विभिन्न शीर्षकमा राहत उपलब्ध गराउने, सदस्यको सुविधालाई ध्यानमा राखि कार्यक्षेत्रभित्र सेवा केन्द्र स्थापना गर्ने, सहकारी अन्तक्रिर्या कार्यक्रम आयोजना गर्ने र युवाहरुलाई उत्पादनसँग सम्बन्धित उद्योगधन्दा सञ्चालनका ालगि प्रोत्साहन गर्ने उनले उल्लेख गरे ।
संस्थाका कोषाध्यक्ष गोविन्द कुमार सिंघानियाले आ.व. २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयरपुँजी ३.५ प्रतिशतले वृद्धि भई ४ करोड ९२ लाख ८९ हजार र बचत संकलन २८.१२ प्रतिशतले वृद्धि भई १६ करोड ३० लाख ५५ हजार पुगेको बताए । त्यसैगरी संस्थाले व्यवसायिक र अन्य कर्जा शीर्षकमा गरी २० करोड ५४ लाख लगानी गरी १८ लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ ।
संस्थामा ३९७ जना शेयर सदस्य आवद्ध रहेका छन् । संस्थाले लघुबचत आवधिक बचत, बाल भविष्य, साधारण, विशेष, चमत्कारी, सुनौलो, सर्वोच्च, क्रमिक र ३६५ दिने बचत योजना सञ्चालन गरिरहेको छ । संस्थाका व्यवस्थापक जीवन मल्लले कार्यक्रम सञ्चालन गरेका थिए भने उत्कृष्ट कर्मचारीको रुपमा पवित्रा घिमिरेलाई सम्मान गरिएको थियो ।
