नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक गरेको छ । जस अनुसार प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने छन् ।
यो तालिका पछिल्लो पटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय गरिएको प्राधिकरणले जनाएको छ । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । अर्को नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् ।