शनिबार, आश्विन १७ गते २०८३

नेपालकाे व्यापार सम्बन्ध १४३ देशसँग, १२० सँग घाटाको व्यापार

पौष १२, २०७८ सोमबार
नेपालकाे व्यापार सम्बन्ध १४३ देशसँग, १२० सँग घाटाको व्यापार

 

चालु आर्थिक वर्ष २०७८।७९ को मंसिरमसान्त सम्म नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँगको व्यापार भने घाटामा देखिएको छ । आयातको तुलतामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्व ३५ अर्व व्यापारघाटा भएको छ ।

नेपालको कुल व्यापारघाटामध्ये आधा भन्दा बढि व्यापारघाटा भारतसँग देखिएको छ । चालु आवको मंसिरसम्ममा भारतमा नेपालबाट ८४ अर्ब १५ करोड बराबरको निर्यात हुँदा पाँच खर्बभन्दा बढीको आयात भएको छ । नेपालमा पेट्रोलियम पदार्थ, खाद्य सामग्री, हरियो तरकारीलगायतका सामाग्री भारतबाट आयात हुँदै आएको छ ।

भारतपछि चीन, इन्डोनेसिया, अर्जेन्टिना, यूएई, अस्ट्रेलिया, अमेरिकालगायतका देशसँग व्यापारघाटा बढिरहेको छ । भारतपछि चीनसँग नेपालको एक खर्ब २१ अर्ब व्यापारघाटा छ । मंसिरसम्ममा नेपालबाट चीनमा ३८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा एक खर्ब २२ अर्ब बराबरको आयात भएको छ ।

कम्बोडिया, डेनमार्क, अल्गेरिया, स्विडेनलगातका देशसँगको वैदेशिक व्यापार भने फाइदामा छ । कम्बोडियासँगको व्यापारमा नेपालले ११ करोड ७४ लाख फाइदा गरेको छ । मंसिरसम्ममा कम्बोडियाबाट दुई करोड १४ लाख बराबरको आयात गर्दा १३ करोड ८९ लाख बराबरको निर्यात गरेको छ ।