बुधबार, भाद्र ३ गते २०८३

पारस्परिकता नै सहकारिताकाे आधार

आषाढ १६, २०७८ बुधबार
पारस्परिकता नै सहकारिताकाे आधार

समान उद्देश्य भएका व्यक्तिहरुले पारस्परिक सहयोग आदान प्रदानको माध्यमबाट आफैंले पूँजी निर्माण गरी आफ्ना आर्थिक तथा सामाजिक उद्धेश्यहरु पूरा गर्न गरिने व्यवसायिक क्रियाकलाप नै सहकारी हो । सहकारी व्यवसाय गर्ने विशेष विधिको रुपमा अन्तर्राष्ट्रिय रुपमा स्थापित पद्धति हो । सहकारी व्यवसायको मूल आधार नै पारस्पारिकता हो । यस आलेखमा पारस्पारिकताको आधारमा गरिने व्यवसायको शुरुवात कसरी भयो भन्ने विषयमा अथवा सहकारी अभियानको इतिहासको वारेमा संक्षेपमा प्रकाश पार्ने कोशिस गरिएको छ ।

The Shore Porters Society ले आफूलाई विश्वको पहिलो पारस्पारिक सहयोगमा आधारित व्यवसायको रुपमा दावी गर्दछ । यो व्यवसाय सन् १४६९ मा स्कटल्याण्डमा स्थापना भएको थियो । शुरुमा पारस्पारिकताको आधारमा संचालन भएको भए तापनि यो व्यवसाय औद्योगिक क्रान्ति (Industrial Revolution) को समयमा निजी व्यवसायको रुपमा रुपान्तरण भएको थियो ।

सन् १७६९ मा स्कटल्याण्डको फेनविक (Fenwik) भन्ने स्थानमा पहिलो उपभोक्ता भण्डार पारस्पारिकताको आधारमा संचालन भएको इतिहास भेटिन्छ । कपडा मजदुरहरुबाट संचालित यस व्यवसायले वोरा (Sack) मा भरिएको जौ को दलिया (Oatmeal) सहुलियत दरमा बिक्री गर्ने गर्दथ्यो । यस वीचमा धेरै पारस्पारिकताको आधारमा संचालन हुने संस्थाहरु उदाउँदै र विलय हुँदै गएको देखिन्छ । उन्नाइसौं शताव्दीको शुरुमा गठन गरिएका यस्ता संस्थाहरु सन् १८४० अगाडि सम्ममा सबै असफल भएका देखिन्छन् ।

सन् १८४४ मा शुरु गरिएको रोचडेल समतामूलक अग्रणी समाज (The Rochdale Society of Equitable Pioneers) पारस्पारिकताको आधारमा स्थापना भएको पहिलो औपचारिक र सफल व्यवसाय मानिन्छ । यो संस्था पनि एकैचोटी स्थापना भएको नभई विभिन्न चरणहरु पार गर्दै यस अघिका पारस्पारिक सहयोगका अभ्यासहरुका सफलता र असफलताहरुबाट पाठ सिक्दै तयार गरिएका रोचडेलका सिद्धान्तहरु (Rochdale Principles) को आधारमा शुरु गरिएको आधुनिक सहकारीको पहिलो शुरुवात हो ।

सहकारी अभियानका पिताको रुपमा रोवर्ट ओवेन (Robert Owen, 1771 - 1858) लाई मानिन्छ । उनले आफ्नो कपडा मिलमा काम गर्ने मजदुरहरु वीच पारस्पारिक सहयोगको अभ्यास गराएका थिए । मजदुरहरुलाई काम गर्ने राम्रो वातावरण दिनुपर्छ, उनीहरु र उनीहरुका छोराछोरीहरु समेतलाई राम्रो शिक्षा दीक्षा दिनुपर्छ भन्ने भावनाले प्रेरित ओवेनले मजदुरहरुका लागि पारस्पारिक सहयोगमा आधारित उपभोक्ता भण्डार स्थापना गरेका थिए । यस भण्डारको सफलतापछि उनले सहकारी ग्राम (Cooperative Village) स्थापना गरी यसको माध्यमबाट मजदुरहरुलाई गाँस, वास र कपासको प्रभावकारी व्यवस्था गरी गरिवीबाट वाहिर ल्याउने र मजदुरहरुलाई स्वाबलम्वी बनाउने सोच बनाई सो कार्यको शुरुवात समेत गरेका थिए । तर उनको यो अभियान सफल हुन सकेन ।

रोवर्ट ओवेनपछि उनीबाट प्रभावित विलियम किंग (William King, 1786-1865) ले उनको सोचलाई अझ व्यवहारिक बनाएर पारस्पारिकताको अभ्यासलाई अगाडि बढाएका थिए । विलियम किंगले मजदूर वर्गले सहकारी खोली चलाउन आवश्यक भएको महशूस गरी सानो स्तरबाट यसको अभ्यास शुरु गराउने र आफूले एक उत्प्रेरकको भूमिकामा काम गर्ने गरी अभियानलाई अगाडि बढाउने सोचका साथ काम शुरु गरेका थिए । उनले को-अपरेटर (The Co-operator)  नामको मासिक पत्रिका मार्फत् सन् १८२८ को मे १ देखि नियमित रुपमा सहकारिताको अवधारणाको प्रचार प्रसार गर्न थालेका थिए । विलियम किंगले पनि उपभोक्ता भण्डार स्थापना गरी पारस्पारिकताको आधारमा संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए । "हामी दैनिक रुपमा आफूलाई आवश्यक पर्ने वस्तु खरिद गर्न पसलमा जान्छौं भने किन हामी आफ्नै पसल स्थापना गरी आफ्नै पसलमा नजाने" भनी उनी आफ्नै स्वामित्वमा सहकारी पसल खोली आफूले फाइदा लिनुपर्ने कुराको उत्प्रेरणा जगाउने गर्दथे ।सहकारी उपभोक्ता भण्डारहरुलाई साप्ताहिक रुपमा हिसाव जाँच गर्ने, पव/बारमा बैठक राखी मदिरा सेवनमा गरिने अनावश्यक खर्चमा कटौती गर्ने लगायतका उपयुक्त र व्यवहारिक सल्लाहहरु उनले प्रस्ताव गरेका थिए ।

सन् १८४० को अवधिमा बेलायतले ठूलो आर्थिक मन्दीको अवस्थाको सामना गर्नुपरेको थियो । यो अवधिमा व्यापार व्यवसायमा गिरावट आउनुका साथै कृषि बालीमा पनि ठूलो नोक्सानी भएको थियो । यसले गर्दा ठूलो मात्रामा वेरोजगारीको अवस्था आएको र तीव्र गतिमा वृद्धि भइरहेको बेलायतको जनसंख्याले गरिवी र भोकमरीको सामना गर्नु परेको थियो । यसलाई वेलायतको इतिहासमा Hungry Forties भनेर चिनिन्छ । यसैगरी यसै समयमा औद्योगिक क्रान्तिको शुरुवात भएको र यसअघि श्रमिकहलाई काम गर्ने राम्रो वातावरण बनाइदिनुपर्छ, मजदुरहरुका लागि कल्याणकारी कार्यक्रमहरु ल्याउनुपर्छ, मजदुरहरु र उनीहरुका सन्तानलाई राम्रो शिक्षा दीक्षा दिनुपर्छ भन्ने खालको मान्यता राख्ने राजनितिक धार पनि कमजोर हुँदै गएको (Chartism Collapsing) थियो । अनिकाल, गरिवी, वेरोजगारी, मानवीय भावनामा आएको ह्रास लगायतका कारणले खाद्य पदार्थमा अखाद्य वस्तु मिसावट गरी कम गुणस्तरको वस्तु बिक्री गर्ने (Food Adulteration) जस्ता कामहरु पनि मध्यस्थ व्यापारीहरुबाट भएको थियो । यी सबै कुराहरुको मारमा श्रमजीवी मजदुरहरु परेका थिए ।  एकातिर उत्पादनमा मेशिनको प्रयोगबाट श्रमको ज्याला घटेको अवस्था थियो भने काम गरे वापत मजदुरहरलाई नगद नदिई कारखाना मालिकले नै संचालन गरेको उपभोक्ता भण्डारबाट गुणस्तरहीन उपभोग्य वस्तुहरु उपलव्ध गराइन्थ्यो । जसले गर्दा उत्पादनमा मजदुरहरको श्रमको शोषण हुनुका साथै उपभोग्य वस्तुहरुमा तौल, गुणस्तर र मूल्यमा मजदुरहरु ठगिन गई दोहोरो मारमा श्रमजीवि मजदुरहरु पर्न गएको अवस्था थियो ।  

 यस्तो विपत्तीको अवस्थामा २८ जना मजदुरहरुले मालिकहरुप्रति विद्रोह गर्दै सन् १८४४ को अगष्ट ११ तारिखमा बेलायतको म्यानचेष्टरको रोचडेल भन्ने स्थानमा रोचडेल समतामूलक अग्रणी समाज (Rochdale Equitable Pioneer's Society) स्थापना गरेका थिए ।  यस अगाडिका पारस्पारिकतामा आधारित भएर संचालित उपभोक्ता भण्डारहरुको सफलता र असफलतालाई विश्लेषण गरी सो को अनुभवका आधारमा तयार गरिएका नियमहरु, जो रोचडेलका सिद्धान्तहरु (Rochdale's Principles) भनेर आजसम्म प्रख्यात रहेका छन्, ती नियमहरु प्रतिपादन गरी सोही नियमहरुको आधारमा संचालन गर्ने गरी सन्  १८४४ डिसेम्वर २१ का दिन यिनै रोचडेली मजदुरहरुले आफ्नै स्वामित्वमा उपभोक्ता भण्डार स्थापना गरेका थिए । २८ जना मजदुरहरुले जम्मा २८ पाउण्ड शेयर पूँजीबाट शुर गरेको यो व्यवसायमा शुरुमा नौनी घ्यू (Butter), चिनी (Sugar), पीठो (Flour), जौ को दलिया (Oats Meal) र मैनवत्ती (Candles) लगायतका मजदुरहरुको दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत उपभोग्य वस्तुहरु राखिएको थियो भने केही महिनापछि चिया (Tea) र सूर्ती (Tobacco) थप गरिएको थियो । स्थापनाको छोटो समयमा नै यो उपभोक्ता भण्डार उच्च गुणस्तरको सामाग्री पाइने भण्डारको रुपमा स्थापित भएको थियो । रोचडेलीहरुले स्थापना गरेको यही सहकारी उपभोक्ता भण्डारबाट नै विश्वमा आधुनिक तथा औपचारिक सहकारीको शुरुवात भएको हो ।

रोचडेल समतामूलक अग्रणी समाजले मजदुरहरुको आर्थिक, समाजिक तथा घरायसी अवस्थामा सुधार ल्याउन निम्न योजनाहरु अगाडि सारेको थियो ।

१ मजदुरहरु वीचमा पारस्पारिक सहयोग तथा बचत गर्ने वानीको विकास गरी आर्थिक उपलव्धि हासिल गर्ने ।

२. उपभोक्ता भण्डार स्थापना गरी दैनिक आवश्यकताका वस्तुहरु र लत्ता कपडाहरु उचित मूल्य र उचित गुणस्तरमा मजदुरहरुलाई बिक्री गर्ने ।

३. वसोवास योग्य घरहरु निर्माण गरी सदस्य मजदुरहरुलाई उचित आवास सुविधा उपलव्ध गराउने ।

४. विभिन्न स्थानमा जग्गा खरिद गरी वा भाडामा लिई वेरोजगार सदस्यहरुलाई खेती गर्न जग्गा उपलव्ध गराएर रोजगारी सृजना गर्ने र मजदुरहरुलाई स्वालम्वी बनाउने ।

तसर्थ Hungry Forties, खाद्य पदार्थमा गरिने मिसावट (Food Adulteration), बेरोजगारी (Unemployment), गरिवी (Poverty) र मजदुरहरुप्रतिको मानवीय व्यवहारमा ह्रास (Chartism Collapsing) बेलायतमा पहिलो आधुनिक सहकारी जन्मनुका कारणको रुपमा रहेका थिए । यी समस्याहरुको सामना गर्न मजदुरहरुबाट स्थापित पहिलो सहकारी संस्थाले सदस्यहरु वीचको पारस्पारिकताको माध्यमबाट पूँजी निर्माण गरी सदस्यहरुकै गाँस, वास, कपास र रोजगारी सृजनाको मूल उद्धेश्य राखेर काम गरी मजदुरहरुलाई गरिवी र भोकमरीबाट वाहिर ल्याउने कोशिस गरेको थियो ।  

 रोचडेल समतामूलक अग्रणी समाजबाट संचालित उपभोक्ता भण्डार सफल हुनुमा रोचडेलीहरुले तर्जुमा गरेको सहकारिताको कार्यान्वयन योग्य संरचना र निम्न नियमहरुको अक्षरश: पालना थियो, जुन नियमहरु हालको सहकारीका सिद्धान्तहरुको प्रारम्भिक रुप समेत  हुन् ।

१. धार्मिक र राजनीतिक रुपमा तटस्थ रहने

२. संस्थाको सदस्यता सबैलाई खुला र स्वैच्छिक गर्ने

३. सदस्य बन्न पूँजीमा अनिवार्य सहभिगता हुनुपर्ने तथा पूँजीमा सीमित व्याज पाइने

४. कारोवारको आधारमा नाफाको वितरण गर्ने

५. वस्तुको तौल र गुणस्तर कायम राख्नुपर्ने तथा लागत मूल्य भन्दा कममा वस्तु बिक्री नगर्ने

६. नाफाको निश्चित हिस्सा सहकारी शिक्षामा लगाउने

७. संस्थाको व्यवस्थापन सदस्यहरुबाट निर्वाचित प्रतिनिधिहरुले आवधिक रुपमा गर्ने

८. आवधिक रुपमा संस्थाको आर्थिक प्रतिवेदन सदस्यहरुमा प्रस्तुत गर्नुपर्ने । आदि ।

 उल्लेखित नियमहरुको आधारमा सफल भएको रोचडेल समतामूलक अग्रणी समाजको सिको गर्दै विभिन्न देशहरुमा उपभोक्ता भण्डार लगायत अन्य विषयका सहकारी व्यवसायहरु स्थापना हुँदै संचालान हँदै गए । यसै क्रममा वित्तीय सहकारीका रुपमा उन्नाइसौं शताव्दीको मध्यतिर जर्मनीमा ऋण संघहरु (Credit Unions) खुलेको देखिन्छ । सन् १८५२ मा जर्मनीको शहरी क्षेत्रबाट र सन् १९६४ मा जर्मनीकै ग्रामीण क्षेत्रबाट ऋण संघहरुको शुरुवात भएको हो । यसअघि नै बेलायतमा मैत्री समाज (Friendly Society), आवास समाज (Housing Society) तथा पारस्पारिक बचत बैंकहरु (Mutual saving Banks) खुलेर संचालन भएका थिए जुन वित्तीय सहकारीका प्रारम्भिक रुप हुन् । उन्नाइसौ शताव्दीको मध्यतिर युरोपबाटै श्रमिक सहकारीहरु, युरोपकै डेनमार्कबाट दुग्ध उत्पादक सहकारीहरुको शुरुवात भएको थियो । कृषि सहकारीहरुको शुरुवात पनि उन्नाइसौ शताव्दीको मध्यतिर युरोपबाट भई भारत,  जापान र चीन लगायतका देशहरुमा फैलिएको सहकारीको इतिहासमा भेटिन्छ ।

सहकारी अभियानको विस्तार विश्ववभर हुँदै गएको परिप्रेक्षयमा विश्वका सहकारीहरु माझ सूचना आदान प्रदान गर्न, सहकारी सिद्धान्तहरुको परिभाषा र प्रतिरक्षा गर्न तथा सहकारी मार्फत् अन्तर्राष्ट्रिय व्यापारको विस्तार गर्ने उद्धेश्यले सन् १८९५ को अगष्ट १९ मा वेलायतको लण्डनमा अर्जेन्टिना, अष्ट्रेलिया, वेल्जियम, वेलायत, डेनमार्क, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, भारत, इटली, स्वीट्जरल्याण्ड, सर्विया र अमेरिकाका सहकारी अभियानका प्रतिनिधहरुको पहिलो कोअपरेटिभ कंग्रेस (First Cooperative Congress)  ले अन्तर्राष्ट्रिय सहकारी महासंघ  (International Cooperative Alliance)  को स्थापना गर्यो ।विश्व सहकारी अभियानको सर्वोच्च अंगको रुपमा रहेको यो महासंघ प्रथम र दोस्रो विश्व युद्ध हुँदा समेत असर नपरी अस्तित्वमा रहेको विश्वको एक मात्र अन्तर्राष्ट्रिय संगठनको रुपमा चर्चित रहेको छ । आफ्ना सदस्य राष्ट्रहरुको फरक राजनीतिक धार वीच यो महासंघलाई अस्तित्वमा रहन कठिन भएको अवस्थामा पनि शान्ति, प्रजातन्त्र र राजनीतिक तटस्थताका कारण यो संस्था सँधै टिकिरहेबाट उल्लेखित तीन कुराहरु दोगो सहकारिताका लागि मूल मन्त्र सावित भएका छन् ।

यसप्रकार आजभन्दा लगभग १८० वर्ष अगाडि २८ जना मजदुरहरुले एउटा उपभोक्ता भण्डारबाट शुरु गरेको विश्व सहकारी अभियान हाल विश्वका लगभग सबै राष्ट्रहरुमा फैलिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघका अनुसार हाल विश्वमा ३० लाख सहकारी संघसंस्थाहरु रहेका र लगभग एक अरव भन्दा बढी मानिसहरु सहकारीमा आवद्ध रहेका छन् । विश्वका ३०० ठूला सहारीहरुको वार्षिक कारोवार लगभग २२० खर्व अमेरिकी डलर रहेको छ ।त्यस्तै सहकारी व्यवसायले विश्वका २८ करोड मानिसहरुलाई रोजगारी प्रदान गरेको छ जुन संख्या विश्वको कूल रोजगारीको १० प्रतिशत हो ।यस तथ्याँकले सहकारी अभियान एउटा राष्ट्र र वर्गमा मात्र सिमित नरही विश्व अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्साको रुपमा रहेको देखाउँछ ।

नेपालमा सरकारी कार्यक्रमको रुपमा वि. सं.२०१३ चैत्र २० गते शुरु भएको सहकारी अभियान २०४८ सालसम्म सरकार नियन्त्रित विशेष गरी सरकारी संस्थानहरुको वितरण माध्यम (डिलर) को रुपमा रहेको पाइन्छ भने वि. स. २०४९ जेठ २ गते सहकारी ऐन २०४८ जारी भएपिछ सदस्यको माग अनुसार सहकारी सिद्धान्तमा आधारित स्वयात्त सहकारी संस्था तथा संघहरु गठन भई संचालन हुन थालेका हुन । हालको अवस्थासम्म आइपुग्दा नेपालको सहकारी अभियानमा लगभग तीस हजार सहकारी संस्थाहरुमा ७३ लाख भन्दा बढी व्यक्तिहरु आवद्ध भएको, छ खर्व भन्दा बढी पूँजी निर्माण र परिचालन भएको तथा लगभग एक लाख प्रत्यक्ष र दश लाख अप्रत्यक्ष रोजगारी सहकारी क्षेत्रबाट सृजना भएको अवस्था छ ।नेपालको संविधानले सरकारी, निजी र सहकारी क्षेत्रलाई देशको आर्थिक विकासको माध्यमको रुपमा परिभाषित गरेको अवस्था र आर्थिक क्षेत्रमा सहकारी अभियानको आफ्नै पनि उल्लेख्य उपस्थितिबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा सहकारी अभियानको विशेष स्थान रहेको कुरा आँकलन गर्न सकिन्छ । वर्तमान सहकारी ऐन २०७४ ले निर्दिष्ट गरे बमोजिमको व्यवसायिक कारोवार, सुशासन र पारदर्शिता, वित्तीय मापदण्डहरुको पालना एवं वित्तीय अनुशासन, सामाजिक/सामुदायिक उत्तरदायित्व र सहकारीहरु वीचको समन्वय अथवा प्रभावकारी संघीकरण व्यवस्था हाल नेपालको दीगो सहकारी विकासका लागि अत्यावश्यक देखिएको छ । 

(राष्ट्रिय सहकारी विकास वोर्डबाट वि. सं.२०५७ मा प्रकाशित "सहकारी दिग्दर्शन", सहकारी विभागबाट प्रकाशित तथ्याँक तथा इन्टरनेटमा उपलव्ध सहकारी सम्वन्धी विभिन्न सामाग्रीको आधारमा तयार गरिएको )