बुधबार, भाद्र ३ गते २०८३

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न

पौष ११, २०७८ आइतबार
शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न

 

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धरको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष नरेन्द्र विष्टको अध्यक्षतामा भएकोमा सभा सम्पन्न भएको हो । 

सभाको उद्घाटन गर्दै मन्त्री मानन्धरले कृषिमा यान्त्रिकरण भित्र्याएर उद्यमशीलता बढाउनुपर्नेमा बताए । उनले कृषि उत्पादन बढाउन प्रदेश सरकारले सिँचाइ व्यवस्था गर्न लागिएको जानकारी दिए । सहकारीमार्फत रोजगारी सिर्जना र उत्पादन बढाउन जोड दिनुपर्ने उनको भनाइ छ । 

राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले सहकारीलाई उत्पादनमा जान ४७ वटा ऐन बाधक रहेको बताए । सहकारीले विद्युत, उत्पादन गर्न, स्कुल सञ्चालन गर्न चाहन्छ’ उनले भने,‘तर ऐनले सहकारी नचिन्दा काम गर्न गाह्रो छ । सहकारीमा लागेर सदस्यको आर्थिक उन्नती कति भयो भन्ने विषय मुख्य रहेको उनले बताए ।

सिभिल सहकारी जोगाउन प्रयास गरिएको जानकारी दिदैँ चौलागाईले त्यसको नेतृत्वसँग बारम्बार छलफल गर्दा पनि गम्भीर नभएको बताए । ‘निदाएको अभिनय गर्नेलाई उठाउन सकिदैन’ उनले भने । संस्थाबारे सदस्यले बारम्बार जानकारी लिने गरेमा सहकारी समस्या नपर्ने उनले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शोभा सापकोटाले २ वटा सहकारीको बदमासीले सिंगो सहकारी बदनामी हुन नहुने बताए । ‘पलायन भइरहेका दक्ष जनशक्तिलार्ई सहकारीले रोक्नुपर्छ’ उनले भनिन् । कोरोनाले अर्थतन्त्र डामाडोल पारेको अवस्थामा सहकारीमा पनि प्रभाव परेको भन्दै वडा अध्यक्ष सापकोटाले सहकारी पनि विस्तारै तंग्रिन लागेको बताइन् ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले रोजगारी र उद्यमशीलतामा जोड दिनुपर्ने बताए । केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका महासचिव माधव तिमल्सिनाले बहुउद्देश्यीय सहकारीले बहुआयामिक परियोजना सञ्चालन गर्नुपर्ने बताए । सहकारी ऐनमा कुन पुँजीबाट ७० र ३० को कारोबार गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले सहकारीले काम गर्न नसकेको उनले बताए ।

sukrapath AGM.jpg

संस्था अध्यक्ष एवं कार्यक्रमका सभापति नरेन्द्र विष्टले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको धारणा व्यक्त गरे । शुक्रपथ सहकारीले कोरोना संक्रमणको महामारीमा पनि आफ्ना बचतकर्ताका लागि समर्पित भएर गरेको काम फेहरिस्त सभामा प्रस्तुत गरेका थिए । संस्थाले ३६५ दिन नै कार्यालय सञ्चालन गरी सदस्यहरूलाइ सेवा प्रदान गर्दै अएकाे र सेवालाइ थप सहज र सरल बनाउन माेबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काराेबारकाे स्टेटमेन्ट हेर्न सकिने सुविधाका साथै कनेक्ट आइपीएस, फाेन पे र क्यूआर पेमेन्ट समेत सञ्चालनमा रहेकाे बताए । 

सभामा सहकारीका सचिव जीवन राज ओझाले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर सहकारीका सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन सहयोग गर्दै आएको दाबी गरे ।  

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष दीपेन्द्र कुमार  श्रेष्ठले आ. व. ०७७।७८ को आर्थिक प्रतिवेदन र ०७८।७९ को कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । संस्थाकाे असारमसान्त सम्म शेयरपुँजी २० कराेड १८ लाख, जगेडा तथा अन्य काेष गरी ७ कराेड, १ अर्व ४१ करोड बचत संकलन गरी १ अर्व ५९ करोड ऋण लगानी गरेको छ । हालसम्म सहकारीमा १२ हजार सदस्य रहेका छन् । 

कार्यक्रमममा वार्षिक बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले प्रविधिकाे प्रयाेगलाइ जाेड दिँदै काजग र नगद रहित काराेबारलाइ बृद्धि गर्ने जनाए । सम्भावित स्थानमा सदस्यता वृद्धिकाे कार्यक्रम अघि बढाउने उल्लेख गरे । 

सभामा संस्थाका उत्कृष्ट सेयर सदस्य सम्मान ,जेष्ठ सदस्य सम्मान,उत्कृष्ट बचत सदस्य सम्मान,उत्कृष्ट कर्जा सदस्य सम्मान गरिएकाे थियाे । 

‘आर्थिक क्रान्तिका लागि सहकारी , हटाउँ गरिबी र बेरोजगारी’ भन्ने मूल नाराका साथ सहकारी अभियान संचालन गरिरहेको शुक्रपथ सहकारीले बाग्मती प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । उपत्यका भित्र ८ र उपत्यकाबाहिर नुवाकोट र चितवनमा समेत गरि १० स्थानमा संस्थाका सेवाकेन्द्र सञ्चाललनमा रहेका छन् ।

Sukra pathh.jpg