बुधबार, भाद्र ३ गते २०८३

शुभप्रवा सेभिङ बाह्रौं वर्षमा प्रवेश, सदस्यलाई प्रविधिमैत्री सेवामा जोड

आषाढ १६, २०७८ बुधबार
शुभप्रवा सेभिङ बाह्रौं वर्षमा प्रवेश, सदस्यलाई प्रविधिमैत्री सेवामा जोड

शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड आजबाट स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । 

स्थापनाकालमा थोरै शेयरपूँजी र सदस्यबाट शुरु भएको संस्थाले ११ वर्षको अवधिमा शेयर सदस्य, शेयर पुँजी, बचत संकलन, ऋण लगानी र संस्थागत पुँजी निर्माणमा उल्लेख्य प्रगति गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले बताए । 

संस्थाप्रति सदस्यहरुले गरेको विश्वास, सञ्चालक समिति, ऋण उपसमिति लगायत अन्य उपसमितिहरु र कर्मठ कर्मचारीहरुको प्रयासले संस्थाले एक दशकको अवधिमा यसप्रकारको उपलब्धी हासिल गर्न सकेको भन्दै खड्काले सबैप्रति आभार व्यक्त गरे । 

सहकारीहरुको भीडमा शुभप्रवाले छुट्टै पहिचान बनाउन सकेको, १२ हजारभन्दा बढि सदस्यको मन जित्न सकेको उनले जनाए । संस्थाले यस अवधिमा ८० करोडको कुल वासलात बनाउन सकेको र संस्थाको आफ्नै भवन निर्माणको लागि चाबहिलमा जग्गा खरिदको प्रक्रिया समेत अगाडि बढाइसकेको उनले जनाए । 

संस्थाको शेयरपुँजी ७ करोड ३१ लाख, बचत ५९ करोड र जगेडा तथा अन्य कोषमा ४ करोड ६२ लाख पुगेको छ । संस्थाको मेरुदण्ड भनेकै संस्थागत पुँजी भएको र यसलाई क्रमशः वृद्ध गरेर संस्थालाई दिगो एवं विश्वसनीय बनाउनतर्फ आफुहरु लागि परेको उनले जनाए । संस्थाले मुख्य कार्यालय चाबहिल र सदस्य सेवा केन्द्र न्यूरोडबाट सदस्यहरुर्ला प्रविधिमैत्री सेवा दिने क्रममा शुभप्रवा मोबाइल बैंकिङ, एटिएम र क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले संस्थाबाट प्रदान गरिने हरेक सेवलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता उनले जनाए । 

निषेधाज्ञा अवधिका बीचमा पनि सदस्यहरुलाई घरदैलो तथा नियमित कार्यालय सञ्चालन गरी सेवा दिएकाले संस्थाको बचत संकलन र शेयरपुँजीमा वृद्धि हुँदै गएको छ । निषेधाज्ञाका कारण सदस्यहरुको ब्यापार व्यवसाय ठप्प भएको हुँदा ऋण असुलीमा भने केहि अप्ठेरो परेकोले सदस्यहरुलाई केहि सहुलियत दिन सकिन्छ भनेर सञ्चालकहरुको बीचमा छलफल भइरहेको खड्काले जानकारी दिए । 

बाह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा प्रत्यक्ष एवं परोक्षरुपमा सहयोग गर्ने शुभेच्छुक तथा निमयनकारी निकायप्रति संस्थाले आभार प्रकट गर्दै आगामी दिनमा पनि सरसहयोग, सल्लाह एवं सुझाव को अपेक्षा गरेको कार्यकारी निर्देशक खड्का बताउँछन् ।