काठमाडौं । काठमाडौंमा आज साँझ ५:३० बजे मोबाइलमार्फत विपद् पूर्वसूचना पठाउने सेल ब्रोडकास्ट प्रणालीको परीक्षण गरिने भएको छ। गृह मन्त्रालयका अनुसार नेपाल टेलिकमको २ जी सञ्जालमार्फत काठमाडौंका केही क्षेत्रमा परीक्षण गरिनेछ। परीक्षणका क्रममा सम्बन्धित क्षेत्रमा रहेका मोबाइलमा चेतावनी ध्वनिसहित नेपाली र अंग्रेजी भाषामा परीक्षण सन्देश आउन सक्नेछ।
एउटै सन्देश पटकपटक प्राप्त हुन सक्ने भन्दै मन्त्रालयले नआत्तिन र कुनै प्रतिक्रिया जनाउन आवश्यक नरहेको स्पष्ट पारेको छ। बाढी, पहिरो, भूकम्पलगायत विपद्का बेला प्रभावित क्षेत्रका नागरिकलाई तत्काल पूर्वसूचना पुर्याउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो।
नेपालपत्र संवाददाता