सोमबार, मंसिर ७ गते २०८३

प्रविधिमार्फत अस्पतालको सेवा प्रवाहलाई थप विश्वसनीय, लचिलो र प्रभावकारी बनाइने


मंसिर ६, २०८३ आइतबार
प्रविधिमार्फत अस्पतालको सेवा प्रवाहलाई थप विश्वसनीय, लचिलो र प्रभावकारी बनाइने

 
 नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ।

यससँगै कम्पनीले नेपालको डिजिटल स्वास्थ्य सेवा रूपान्तरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो। कम्पनीका अनुसार, नेपालमा स्वास्थ्य संस्थाहरूलाई यस्तो उन्नत प्रविधिमा आधारित एचएमआइएस उपलब्ध गराउने मिदास पहिलो तथा एकमात्र कम्पनी हो। यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै, तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बनाउँछ।

२५ वर्षभन्दा बढीको अनुभवसहित मिदासले केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिकसमेत गरी २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार, पछिल्लो स्तरोन्नतिले अस्पतालको सूचना प्रणालीलाई थप लचिलो, विस्तारयोग्य र भरपर्दो बनाउँदै बदलिँदो आवश्यकता तथा सेवाग्राहीको चापअनुसार छिटो अनुकूलन गर्न सहयोग पुर्‍याउनेछ।

मोनोलिथिक संरचनामा अस्पतालका बिलिङ, फार्मेसी, बिरामी अभिलेख, प्रयोगशाला प्रतिवेदनलगायत सबै सेवा एउटै ठूलो सफ्टवेयर संरचनाभित्र सञ्चालन हुन्छन्। त्यसैले कुनै एउटा विभागमा प्राविधिक समस्या आएमा वा त्यसको प्रणाली अद्यावधिक गर्नुपरेमा अन्य सेवा पनि प्रभावित हुन सक्छन्। यस्तो संरचनामा आवश्यकता अनुसार प्रणाली विस्तार तथा परिमार्जन गर्न तुलनात्मक रूपमा कठिन हुन्छ।

माइक्रोसर्भिसेस आर्किटेक्चरमा भने बिलिङ, फार्मेसी र बिरामी अभिलेखजस्ता सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा स्वतन्त्र सञ्चालन हुन्छन्। कुनै एउटा मोड्युलमा सुधार वा अद्यावधिक गर्दा अन्य विभागको कामकाजमा असर नपर्ने गरी परिवर्तन गर्न सकिन्छ। यसले प्रणालीको निरन्तरता कायम राख्न, सेवा अवरोध न्यून गर्न, कार्यसम्पादन छरितो बनाउन तथा आवश्यकताअनुसार निश्चित विभागको क्षमता विस्तार गर्न सहयोग पुर्‍याउँछ।