किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ३१औँ वर्ष पूरा गरी ३२औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै मैत्रीपूर्ण फुटबल प्रतियोगिता र धार्मिक तीर्थस्थलमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले ३२औँ वर्ष प्रवेशको अवसरमा सम्पूर्ण सदस्य, कर्मचारी तथा सरोकारवालामा शुभकामना व्यक्त गरेका छन् । संस्थाको यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि संस्थाको प्रगति र सफलताका लागि सबैको साथ रहने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी, संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले ३१औँ वर्ष पूरा गरी ३२औँ वर्षको यात्रा सुरु गरेको अवसरमा संस्थालाई यहाँसम्म पुर्याउन योगदान गर्ने सदस्य, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सबैबाट सहयोग, सद्भाव र शुभेच्छा प्राप्त हुने अपेक्षा गरेका छन्।
वार्षिकोत्सवको अवसरमा लम्कीचुहास्थित पञ्चकोशी युवा क्लबको खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा लम्कीचुहा उद्योग वाणिज्य संघ, लम्कीचुहा पत्रकार संघ, लम्कीचुहा नगरपालिका, सीएमसी लम्की, बैंकर्स क्लब लम्की र किसान बहुउद्देश्यीय सहकारीको सहभागिता थियो । प्रतियोगितामा लम्कीचुहा उद्योग वाणिज्य संघको टोलीले बैंकर्स क्लब लम्कीलाई ३–० गोलले पराजित गर्दै प्रथम स्थान हासिल गरेको थियो । विजेता टोलीलाई खसी पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै, संस्थाले श्री कैलाशधाम तीर्थस्थलको मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष टिकेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य, महाप्रबन्धक, विभागीय तथा इलाका प्रमुख, शाखा प्रमुख र विभिन्न तहमा कार्यरत कर्मचारीको सहभागिता थियो। धार्मिक तथा पवित्र तीर्थस्थलको स्वच्छता, संरक्षण र वातावरणीय सरसफाइलाई प्राथमिकता दिँदै आयोजना गरिएको कार्यक्रममा संस्थाका पदाधिकारी तथा कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए।
नेपालपत्र संवाददाता