महागुरू फाल्गुन्द लिम्बु जातिको लिङ्देन थरमा जन्मनु भएका नेपालका सोह्रौँ राष्ट्रिय विभूति हुनुहुन्छ । बाल्यकालमा हात–खुट्टामा फलामको चुरा लगाई दिएको हुनाले गाउँलेहरू ‘फलामसिं’ भन्ने गर्थे । भनिन्छ उहाँको न्वारानको नाम नरध्वज लिङ्देन हो । यिनै फलामसिं योगमा दीक्षित भएपछि हुनुपर्छ उहाँको योगीनाम फाल्गुनन्द भएको। आज कार्तिक २५ गते, ०८३ उहाँको १४२ औं जन्मजयन्ती हो।
उहाँको समाज सुधार अभियानको पूर्वाञ्चल, खासगरी लिम्बु समुदायमा ठूलो प्रभाव छ । उहाँ बि.सं. १९६४ सालमा भारतीय सेनामा भर्ती हुनुभयो । तर पहिलो विश्वयुद्धको समयमा उहाँभित्र वैराग्य बढेर आयो होला, सेनाको जागीर छोडेर भारतका तीर्थस्थलहरू घुम्नु भयो। जोसमनि पन्थका शशिधर स्वामीका चेला मधुनन्दसँग नजिक पुगेपछि उहाँ जोसमनि पन्थबाट दीक्षित भई योग, ध्यान, ब्रम्हज्ञानको खोजी गर्ने योगी र तपस्वी बन्नुभयो । त्रिशुल–चिम्टा कमण्डलु बोकेका साधुको लिवासमा उहाँ आफ्ना चेलाहरूका साथ लिम्बु गाउँ घुम्ने गर्न थाल्नुभयो ।
जन्मजात शाकाहारी महागुरू फाल्गुनन्दले लिम्बु जातिमा हुने अति खर्चालु विवाह, पूजाआजा जस्ता रीति–रिवाज र जाँड–रक्सीको अत्यधिक सेवनले गर्दा जातिगत पछौटेपन र गरिबीबाट मुक्ति लिने एउटै बाटो जाँडरक्सीको सेवन करिब बन्द गर्ने, विवाह, पूजाआजा र अन्य सांस्कृतिक पर्वलाई सरल, किफायती र बनाउनु पर्ने उपदेश बाँड्दै हिँड्नु भयो ।
मुन्धुमविद् अर्जुनबाबु मावोहाङ् लेख्नुहुन्छ, “....फाल्गुनन्दले थुम–थुम (क्षेत्र–क्षेत्र) का लिम्बु सुब्बा बोलाएर १९८८ बैशाख २४ गते पाँचथरको चोक्मागुको लब्रेकुटीमा सत्य धर्म मुचुल्का गराए । मुचुल्कामा छोरीचेलीले सोत (ज्वाईँ पक्षले विवाह गर्ने शर्तस्वरुप दिएको धन) खान नहुने, संस्कृति, संस्कार, अनुष्ठानमा मदमंस प्रयोग गर्न नहुने मुख्य बुँदा थिए । यो मुचुल्काले विशेष गरी विपन्न लुम्बूको जीवनमा ठूलो परिवर्तन ल्यायो” (‘फाल्गुनन्दका नाममा फाटो’ शिर्षक लेख, कान्तिपुर कार्तिक २५, ०७५)।
आज लिम्बु जातिमा दुई किसिमको मान्यता र संस्कार प्रचलित छन्– आफ्ना कुलदेवता र परम्परागत धार्मिक मान्यताको अमल गर्ने र जोसमनि पन्थ मान्ने । जोसमनि पन्थ मान्नेहरू बलीको रुपमा काटमार गर्दैनन्, जाँडरक्सी, माछामासुको प्रचलन गर्दैनन् । अथवा लिम्बु जातिमा सत्यहाङ्मा र हत्यहाङ्मामा विभाजित छन्।
महागुरूको जन्म बि.सं. १९४२ कार्तिक २५ आइतबारमा भयो र निधन वि.स. २००५ चैत्र २२ सोमबार ।
माथिको भनाई महागुरूले आफ्नो नित्य प्रवचनमा भनिरहने मुन्धुम धर्मको यथार्थ सार हो ।
उहाँको उपरोक्त वाणी ०७२ कार्तिक २५ बुधबार कान्तिपुर दैनिकमा प्रकाशित डा. चन्द्रकुमार सेर्माको लेख र नागरिक दैनिकमा डा. सेर्मा कै लेख (कार्तिक २५, ०७६) मा उल्लेख भएको आधारमा लिइएको हो ।
--------------
फाल्गुनन्द जयन्तीको सुखद अवसरमा समस्त किंरात धर्मावलम्बीहरूमा हार्दिक बधाई तथा शुभकामना ।
चन्द्रमणि गाैतम