बुधबार, कार्तिक १२ गते २०८३

ऋण लिनुअघि बैंकले हेर्ने यी कुरा थाहा पाइराख्नुस्


कार्तिक ११, २०८३ मंगलबार
ऋण लिनुअघि बैंकले हेर्ने यी कुरा थाहा पाइराख्नुस्

 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदै हुनुहुन्छ ? त्यसो भए ऋण पाउनुअघि बैंकले तपाईंको तिर्नसक्ने क्षमता, वित्तीय इतिहासदेखि धितोसम्मका विभिन्न पक्ष मूल्यांकन गर्छ भन्ने बुझ्न आवश्यक छ । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनासम्बन्धी सन्देशमा ऋण प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले ‘५ सी’लाई आधार बनाउन सचेत गराएको छ।

राष्ट्र बैंकका अनुसार ऋण मूल्यांकनका क्रममा नगद प्रवाह, पुँजी , चरित्र तथा विगतको वित्तीय इतिहास, धितो तथा सुरक्षण र ऋणसम्बन्धी सर्तहरू हेरिन्छ । त्यसैले ऋण लिनुअघि आफ्नो आम्दानी तथा नगद प्रवाहले ऋणको साँवा–ब्याज तिर्न सक्छ कि सक्दैन भन्ने स्पष्ट हुनुपर्ने राष्ट्र बैंकको सन्देश छ।

ऋणका लागि आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाले तोकेको ढाँचामा फाराम भर्नुका साथै नागरिकता वा प्यान कार्ड, सम्पत्ति तथा दायित्व, आम्दानीको प्रमाण, ऋणको प्रस्ताव तथा धितो राख्ने सम्पत्तिसम्बन्धी आवश्यक कागजात पेस गर्नुपर्छ । बैंकले यी विवरणका आधारमा व्यक्तिको वा व्यवसायको ऋण तिर्नसक्ने क्षमता, स्वलगानी, साख र धितो सुरक्षणको मूल्यांकन गर्छ।

मूल्यांकन सन्तोषजनक भए बैंकले ऋण स्वीकृत गर्छ । त्यसपछि ऋणीलाई स्वीकृत ऋण रकम, ब्याजदर, भुक्तानी अवधि र अन्य सर्त स्पष्ट रूपमा जानकारी गराइन्छ । आवश्यक कानुनी तथा धितोसम्बन्धी प्रक्रिया पूरा भएपछि ऋण रकम एकमुष्ट वा पटक–पटक गरी खातामा प्रवाह गरिन्छ ।

ऋण लिएपछि पनि प्रक्रिया सकिँदैन । बैंक तथा वित्तीय संस्थाले ऋणको सदुपयोग र भुक्तानी अवस्थाको अनुगमन गर्ने भएकाले ऋणीले स्वीकृत उद्देश्यअनुसार रकम प्रयोग गर्नुपर्छ । समयमै साँवा–ब्याज भुक्तानी गर्नु र बैंकलाई सही सूचना उपलब्ध गराउनु ऋणीको दायित्व हो ।

राष्ट्र बैंकले ऋणीलाई पर्याप्त सूचना पाउने, निष्पक्ष व्यवहार हुने, गोपनीयता कायम हुने तथा गुनासो राखेर समस्या समाधान खोज्न पाउने अधिकार रहेको पनि जनाएको छ । त्यसैले ऋण लिनुअघि त्यसको उद्देश्य, लागत, प्रतिफल र जोखिमको विश्लेषण गरेर आफ्नो क्षमताअनुसार मात्र ऋण उपयोग गर्न राष्ट्र बैंकले सुझाएको छ ।