काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिल–बिजक जारी नगरेको गुनासो आएको भन्दै बिक्रीमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन दिएको हो ।
निगमका निर्देशक इन्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरिएको स्मरण गराइएको छ। ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निगमले उद्योगहरूलाई भनेको छ। निगमले ग्यासको बिक्री–वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कर प्रणालीअनुकूल बनाउन बिल–बिजक जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।
नेपालपत्र संवाददाता