शुक्रबार, आश्विन २३ गते २०८३

फ्रान्समा विद्यार्थी आन्दोलन - शिक्षा सङ्कट, सामाजिक असन्तोष र राज्यको जवाफदेहिताको प्रश्न


आश्विन २३, २०८३ शुक्रबार
फ्रान्समा विद्यार्थी आन्दोलन - शिक्षा सङ्कट, सामाजिक असन्तोष र राज्यको जवाफदेहिताको प्रश्न

फ्रान्समा गएको सेप्टेम्बर महिनादेखि चर्किएको विद्यार्थी आन्दोलन अझ ब्यापक बन्दै गएको देखिन्छ । यो केवल विद्यालयको अव्यवस्थाविरुद्धको विरोध मात्र होइन; यो सार्वजनिक सेवाको अवस्था, सरकारी खर्चको प्राथमिकता र सामाजिक अवसरको समानतासम्बन्धी गहिरो असन्तोषको अभिव्यक्ति पनि हो भन्ने बस्तुबादी बिश्लेषहरुले औंल्याइरहेका छन् । फ्रन्सको क्रेतेय क्षेत्रको एउटा विद्यालयमा शिक्षक र स्रोतसाधनको अभावविरुद्ध आरम्भ भएको आन्दोलन अहिले देशभर फैलिएको छ। विद्यार्थीहरूले शिक्षकको कमी, अत्यधिक भिडभाड भएका कक्षाकोठा, जीर्ण विद्यालय भवन र थकाइलाग्दो पढाइ तालिकामा सुधार जस्ता महत्वपूर्ण माग पूरा गर्न सरकारलाई दबाब दिइरहका छन्। 

फ्रान्सेली विद्यार्थीहरुको यो आन्दोलनका मूल कारण खाेज्दा निम्न विषय सतहमा देखा पर्छन्ः

पहिलो, सार्वजनिक शिक्षामा स्रोतसाधनको अभाव। शिक्षक पद रिक्त रहनु, अनुपस्थित शिक्षकको विकल्प नहुनु र विद्यालयको भौतिक अवस्था कमजोर हुनु विद्यार्थीको असन्तोषका प्रत्यक्ष कारण हुन्।

दोस्रो, सामाजिक असमानता । आर्थिक रूपमा कमजोर क्षेत्रका विद्यालयले पर्याप्त स्रोत र सहयोग नपाएको अनुभूति यो आन्दोलनको अर्को महत्वपूर्ण पक्ष हो। गुणस्तरीय शिक्षामा पहुँच असमान हुँदा भविष्यका अवसर पनि असमान बन्न सक्ने कुरा प्रष्ट नै छ ।

तेस्रो, सरकारी बजेटको प्राथमिकतामाथिको प्रश्न हो ।  सार्वजनिक खर्च कटौती र सरकारी सेवामा स्रोतको दबाबबीच शिक्षा क्षेत्रमा पर्याप्त लगानी हुनुपर्ने माग उठेको छ। यसले आर्थिक अनुशासन र सार्वजनिक सेवाको गुणस्तरबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहसलाई तीव्र बनाइ दिएको छ। 

चौथो, आन्दोलन चल्दै जाँदा संवादको कमजोरी र प्रहरी कारबाहीप्रतिको असन्तोष थप कारण बन्न पुगेको छ । केही प्रदर्शनमा हिंसा, तोडफोड र प्रहरीसँग झडप भएका छन्। त्यसैगरी, प्रहरीको बल प्रयोगबारे पनि प्रश्न उठेका छन्। हिंसात्मक घटनाको निष्पक्ष छानबिन र शान्तिपूर्ण प्रदर्शनको अधिकारको संरक्षण दुवै आवश्यक छन् भन्ने थप कुरा पनि उठेको छ । 

franc student.jpg

यस स्थितिमा अब यो समस्याको सही किसिमले निराकरण र निवारणका लागि के गर्नुपर्छ ? ज्वलन्त प्रश्न खडा भएको छ।

क. शिक्षामा वास्तविक लगानी बढाउने र शिक्षकको रिक्त पद पूर्ति, विद्यालय भवन सुधार, आवश्यक शैक्षिक सामग्री र विद्यार्थी सहयोग कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने

ख. विद्यार्थी, शिक्षक र अभिभावकसँग प्रत्यक्ष संवाद गर्नेः आन्दोलनलाई केवल सुरक्षा समस्याका रूपमा नहेरी मागहरूको समयबद्ध समाधान प्रस्तुत गर्नुपर्ने ।

ग. समान शैक्षिक अवसर सुनिश्चित गर्नु पर्ने र कमजोर आर्थिक अवस्था भएका समुदायका विद्यालयमा आवश्यकता र विद्यार्थीको अवस्थाका आधारमा पर्याप्त स्रोत उपलब्ध गराउनु पर्ने ।

घ. प्रहरीको जवाफदेहिता र सार्वजनिक सुरक्षाको सन्तुलन कायम गर्ने र शान्तिपूर्ण प्रदर्शनको अधिकार सुरक्षित गर्नुपर्ने। हिंसा वा सम्पत्तिमा क्षति पु¥याउने कार्यको कानुनअनुसार निष्पक्ष छानबिन हुनुपर्ने; नाबालिगमाथि बल प्रयोग गर्दा विशेष संयमता अपनाउन पर्ने ।

ङ. सही उपचारको घोषणाभन्दा तिनको ठोस र मूर्त  कार्यान्वयनलाई प्राथमिकता दिनपर्ने र सरकारले शिक्षक नियुक्ति, विद्यालय सुधार र शैक्षिक तालिकासम्बन्धी स्पष्ट लक्ष्य, समयसीमा र सार्वजनिक अनुगमनको व्यवस्था गर्नुपर्ने महत्वपूर्ण बिषयहरु सतहमा आएका छन् । अक्टोबर ८ सम्म पनि विद्यार्थीको असन्तोष कायम रहेकोले केवल आश्वासन पर्याप्त नभएको देखाइरहेको छ ।

फ्रान्सको विद्यार्थी आन्दोलनले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ—राज्यले शिक्षा र सामाजिक अवसरलाई कति प्राथमिकता दिन्छ? विद्यार्थीको असन्तोषलाई दमन गरेर केही समयका लागि सडक शान्त पार्न सकिए पनि त्यसको आधारभूत कारण समाधान हुँदैन। अर्कोतर्फ, हिंसा र तोडफोडलाई पनि आन्दोलनको अपरिहार्य हिस्सा मान्न सकिँदैन।

स्थायी समाधानको बाटो भनेको पर्याप्त सार्वजनिक लगानी, समान शैक्षिक अवसर, प्रभावकारी संवाद, कानुनी जवाफदेहिता र विद्यार्थीको भविष्यप्रतिको राज्यको ठोस प्रतिबद्धता हो। फ्रान्सको अनुभवले विकासको मूल्याङ्कन आर्थिक सूचकाङ्कबाट मात्र होइन, सार्वजनिक सेवाको गुणस्तर र नयाँ पुस्ताले प्राप्त गर्ने अवसरबाट पनि गर्नुपर्ने देखाउँछ।