भिमाद बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको पुन: स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले गत भदौमा आएको बाढीका कारण प्रभावितहरुको पुन:स्थापनामा सहयोगमा पुर्याउने उदेश्यका साथ आर्थिक सहयोग गरेको हो ।
संस्थाले २० औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा ५५ हजार ५५५ रुर्पैयाँ सहयोग गरेको जनाएको छ । संस्थाका अध्यक्ष काजिमान श्रेष्ठले स्थापना दिवसको अवसरमा बाढी प्रभावित तथा पीडितहरुको राहत र सहयोगको लागि उक्त रकम सहयोग गरेको जानकारी दिए । संस्थाका अध्यक्ष श्रेष्ठ र मुख्य प्रवन्धक सञ्जीव श्रेष्ठले विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट,धादिङ र चितवन लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएकोप्रति दु:ख व्यक्त गरेका छन् । साथै बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
साथै, विपद्को यस कठिन घडीमा पीडित तथा प्रभावित परिवारको सहयोगका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए । संस्थाले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बाढीपीडितका लागि सहयोग उपलब्ध गराएको जनाएको छ ।
नेपालपत्र संवाददाता