काठमाडौं । दशैं–तिहारको मुखमा चीनसँग जोडिएका नेपालका तीन प्रमुख उत्तरी व्यापारिक नाका एकैपटक अवरुद्ध हुँदा चाडपर्व लक्षित सामानको आयात प्रभावित भएको छ। रसुवागढी बाढीबाट क्षतिग्रस्त, तातोपानी लामो समयदेखि नियमित सञ्चालनमा नरहेको र वैकल्पिक मार्गका रूपमा प्रयोग बढेको कोरला पनि वर्षा, पहिरो तथा हिमपातका कारण बन्द भएपछि ठूलो संख्यामा मालवाहक सवारी चीनतर्फ र नेपालतर्फ रोकिएका छन्।
रसुवागढी र तातोपानी बन्द भएपछि व्यवसायीले पछिल्लो समय कोरला नाकालाई विकल्पका रूपमा प्रयोग गर्दै आएका थिए। कोरला हुँदै दैनिक ७० देखि ८० वटासम्म मालवाहक तथा विद्युतीय सवारी नेपाल भित्रिने गरेकामा पछिल्लो वर्षा, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि त्यहाँबाट हुने आयातसमेत ठप्प भएको हो। भन्सार एजेन्ट संघका निवर्तमान अध्यक्ष भरतराज घिमिरेका अनुसार केही दिनअघि ४०० देखि ५०० कन्टेनर छुटे पनि अझै करिब १ हजार ५०० देखि २ हजार कन्टेनर चीनतर्फ रोकिएका छन्।
अविरल वर्षा र हिमपातपछि जोमसोम–कोरला सडकका विभिन्न खण्डमा पहिरो तथा ठूला ढुंगा खसेका छन्। काभ्रेभिर, जोमसोम–पान्डा खोला र कागबेनी–वारागुङ क्षेत्रका सडक अवरुद्ध छन्। कोरला नजिक घ्याकर खोलामा आएको बाढीले सडकमा क्षति पुर्याएको छ भने कोरला पास क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि मुस्ताङ भन्सार यार्डमा जाँचपास भएका कन्टेनरसहित चीनतर्फ जानुपर्ने खाली सवारीसमेत रोकिएका छन्।
नाका अवरुद्ध हुँदा दशैं–तिहारका लागि चीनबाट आयात हुने लत्ताकपडा, जुत्ता, कस्मेटिक्स तथा अन्य उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको व्यवसायीले बताएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार नेपालतर्फ मात्रै ५०० भन्दा बढी मालवाहक सवारी रोकिएका छन् भने चीनतर्फ पनि ठूलो संख्यामा सवारी रोकिएका छन्।
स्थलमार्ग बन्द भएपछि केही व्यवसायीले हवाई मार्गबाट सामान ल्याउन थाले पनि यात्रुको चाप र राहत सामग्री ढुवानीका कारण पर्याप्त कार्गो क्षमता उपलब्ध हुन सकेको छैन। सडकको तुलनामा हवाई ढुवानी महँगो पर्ने भएकाले आयात लागत बढ्ने र त्यसको असर चाडपर्वका सामानको बजार आपूर्तिमा पर्न सक्ने व्यवसायीको भनाइ छ।
तीनवटै नाका प्रभावित भएपछि व्यवसायीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग कूटनीतिक पहल गर्न माग गरेका छन्। रसुवागढी नाका गत भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त भएको हो भने तातोपानी असारदेखि नियमित सञ्चालनमा छैन। यी दुई नाका बन्द भएपछि चीनसँगको स्थल व्यापारको ठूलो हिस्सा कोरलातर्फ मोडिएको थियो। कोरला पनि अवरुद्ध भएपछि दशैंको मुखमा चीनसँगको व्यापार तथा आपूर्ति व्यवस्थामा थप दबाब परेको छ।
नेपालपत्र संवाददाता