महोत्तरी । बर्दिबासस्थित एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। ‘पारदर्शिता, सहभागिता तथा सुशासन’ भन्ने थिमसहित साधारणसभा आयोजना गरिएको हो।
संस्थाका अध्यक्ष उत्तमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन ज्येष्ठ सदस्य पवित्रा देवी श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, सञ्चारकर्मी, शेयर सदस्य र कर्मचारीहरूको सहभागिता थियो। कार्यक्रम सञ्चालन सञ्चालक समिति सदस्य सृजना भण्डारीले गर्नुभएको थियो भने उपाध्यक्ष मीना पोखरेलले स्वागत गरेकी थिइन् ।
सभामा अध्यक्ष श्रेष्ठले संस्थाको वर्तमान अवस्था र भावी योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष डिगबहादुर श्रेष्ठले संस्थाको वित्तीय अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक रोशनलाल श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यलाई सम्मानसमेत गरिएको थियो।
संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म पुरुष १ हजार ८८६ र महिला १ हजार ४७६ गरी कुल ३ हजार ३६२ शेयर सदस्य छन्। संस्थाको शेयर पुँजी १ करोड ८५ लाख ३४ हजार रुपैयाँ, बचत १४ करोड ९ लाख २३ हजार रुपैयाँ र ऋण लगानी १२ करोड ६५ लाख ७ हजार रुपैयाँ रहेको छ। यस्तै, जगेडा तथा विभिन्न कोषमा ९३ लाख ३२ हजार रुपैयाँ र कुल दायित्व तथा सम्पत्ति १८ करोड ५ लाख १२ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ।
संस्थाले शेयर सदस्यलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको जनाएको छ। आफ्नै मोबाइल एपमार्फत मोबाइल बैंकिङ सुविधा पनि उपलब्ध गराइएको छ। सदस्य सुरक्षा कोषअन्तर्गत दिवंगत शेयर सदस्य टोना बहादुर कार्कीका हकवालालाई संस्थाको नियमअनुसार १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो। संस्थाको मुख्य कार्यालय बर्दिबास नगरपालिका–१ मा रहेको छ भने बर्दिबास नगरपालिका–११ मा एक सेवा केन्द्र सञ्चालनमा रहेको छ।
नेपालपत्र संवाददाता