आइतबार, आश्विन १८ गते २०८३

मौसम प्रतिकूल भएपछि बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा स्थगित


आश्विन ८, २०८३ बिहीबार
मौसम प्रतिकूल भएपछि बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा स्थगित

 

काभ्रे । प्रतिकूल मौसमका कारण बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारणसभाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।

संस्थाले असोज ८ गते जारी गरेको सूचनामा नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ७ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने र बाढीपहिरोको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेकाले साधारणसभा स्थगित गरिएको जनाएको छ।

संस्थाले यसअघि असोज ९ गतेदेखि ११ गतेसम्म साधारणसभाका कार्यक्रम सञ्चालन गर्ने गरी मिति तय गरेको थियो। तर स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक हिँडडुल नगरी सुरक्षित रहन आग्रह गरेको तथा निरन्तर वर्षाका कारण यातायात सञ्चालनमा समेत असहजता उत्पन्न भएपछि शेयर सदस्यहरूको आवतजावतमा समस्या पर्न सक्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले जारी गरेको सूचनामा उल्लेख छ।

संस्थाले मौसममा आएको प्रतिकूल परिस्थितिको जोखिम शून्य भएपछि मात्र सुरक्षित रूपमा आफ्ना गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई आग्रह गरेको छ। साथै, मौसम अनुकूल भएपछि साधारणसभाको नयाँ मिति तय गरी पुनः सूचना प्रकाशित गरिने जनाएको छ।