सदस्यहरुलाई शोषण गरेर सीमित व्यक्ति मात्रै आर्थिक रुपमा माथि उठे भन्ने आरोप सहकारी संस्थाहरुलाई लाग्ने गरेको छ । तर सबै संस्थाको हकमा यो सान्दर्भिक देखिँदैन । मुलकमा रहेका कतिपय सहकारीहरुले सदस्यहरुलाई कसरी आर्थिक रुपमा माथि उठाउने र उनीहरुको मुहारमा खुसी ल्याउने भनेर लागिपरेका भेटिन्छन् । सदस्य नै संस्था लागि सबैथोक हुन् र उनीहरुकै हितमा हरेक कार्य गर्नुपर्छ भन्ने अभिप्रायबाट अघि बढेका सहकारी पनि नभएका होइनन् । सहकारीको मर्म पनि आफ्ना सदस्यको आर्थिक तथा सामाजिक उत्थान गर्नु नै हो ।
त्यसै मर्मलाई केन्द्रविन्दु बनाएर गुलाब बहुउद्देश्यीय सहकारी संस्था अगाडि बढेको छ । रुपन्देहीको सैनासैना–८, बासगढीमा रहेको उक्त संस्थाले सदस्यहरुको आर्थिक अवस्थालाई मजबुत बनाउन विभिन्न प्रयास गर्दै आएको छ । संस्थाले प्रदेश सरकारसँगको साझेदारीमा ४२ लाख लगानीमा केरा खेती शुरु गर्नुका साथै केरा कटेज समेत निर्माण गरेको छ । गत वर्षदेखि संस्थाले ३ बिगाहा क्षेत्रफलमा केरा खेती लगाएको र कमजोर आर्थिक स्थिति भएका सदस्यहरुलाई दैनिक रोजगार दिँदै आएको अध्यक्ष गोपाल भण्डारी बताउँछन् ।
रोजगारीका लागि यहाँका सदस्य अन्यत्र भौंतारिनु नपरोस् र उनीहरुलाई कुनै न कुनै माध्यमबाट रोजगार बनाई आर्थिक स्थिति सबल बनाउन संस्थाको प्रयास रहेको उनले सुनाए । केरा खेतीमा सिजनमा चालीसपचास जना र अन्य समयमा पनि दैनिक पाँचछ जनाले काम पाउने गरेका छन् । केरा खेतीलाई अझै विस्तार गर्ने र मम, चिप्स, जुस, अचार जस्ता थुप्रै परिकारहरु केराबाटै उत्पादन गर्ने योजना संस्थाको छ । त्यसले गर्दा थप रोजगारी वृद्धि हुने र कामको खोजीमा सदस्यहरुले भौंतारिनु नपर्ने उनको विश्वास छ । बजारमा केराको माग अत्याधिक रहेको र केरा लगाएको १६ महिनापछि फल दिने हुँदा त्यसबाट राम्रो लाभ लिन सकिने उनले बताए । एक पटक लगाएको केराको बोटबाट पाँचछ वर्षसम्म फल लिन सकिन्छ ।
त्यसैगरी संस्थाले आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउन विभिन्न शीर्षकमा ऋण लगानी गर्ने गरेको छ । स्वरोजगार बन्न चाहने सदस्यहरुको चाहना अनुसार संस्थाले कृषि समितिमार्फत् समुहहरु निर्माण गरी विभिन्न परियोजनामा अवलोकन भ्रमण गराउँछ । त्यस पश्चात् विशेषज्ञ बोलाएर उनीहरुलाई व्यवसाय गर्न आवश्यक ज्ञान तथा तालिम एवं श्रोतसाधनको जोहो समेत गरिदिन्छ । संस्थामा आवद्ध रहेका २५०० सदस्यलाई कुनै न कुनै व्यवसायमा जोडी सबल बनाउनु नै संस्थाको सफलताको रुपमा लिएको अध्यक्ष भण्डारी बताउँछन् । संस्थामा आवद्ध सदस्यहरुमध्ये रुचि र क्षमताअनुसार आलु, बेसार, फूल उत्पादन र पशुपालनमा जोडी स्वरोजगार बनाउनेतर्फ संस्थाले जोड दिएको छ । संस्थाले नगदे बाली र बेमौसमी तरकारी खेती गर्न चाहने सदस्यलाई ३ महिना अवधिका लागि ३५ हजारसम्म निब्र्याजी कर्जा उपलब्ध गराउँदै आएको छ । यसबाट धेरै सदस्यलाई यस्ता खेतीमा लागी छोटो समयमा नै राम्रो आम्दानी गर्ने अवसर मिलेको छ ।
संस्थाका सदस्य रेवीलाल न्यौपानेले ८÷९ कठ्ठामा आलुखेती गर्दै आएका छन् । उनलाई आलु खेतीका लागि आवश्यक पर्ने पुँजी तथा बीउ संस्थाले सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ । उनले उत्पादन गरेको आलु बीउको रुपमा विक्री हुने गर्छ । ७०÷७१ सालबाट ३५ हजार निब्र्याजी ऋण लिएर आलुखेती शुरु गरेका उनले वार्षिक ३ लाखसम्म आम्दानी गरेको सुनाए । आलु खेतीबाट राम्रो लाभ लिन सक्ने भएपनि त्यस भेगमा कोल्डस्टोर नहुँदा बीउका लागि आलु सञ्चित गर्न भैरहवा लैजानु परेको दुखेसो उनको छ । सरकारले स्थानीय स्तरमा आलु लगायत तरकारी भण्डारणका लागि कोल्डस्टोर स्थापना गरिदिए आलु खेतीमा लागेका धेरै सदस्य लाभान्वित हुने उनले बताए । सहकारी समाजका लागि राम्रो भएपनि बजारमा च्याउ उम्रिएसरी संस्था खुल्दा विकृति समेत आएको उनको अनुभव छ ।
त्यसैगरी वैदेशिक रोजगारमा १० वर्ष बिताएर फर्किएका दिपक पन्त पनि संस्थाको सदस्य छन् । ४ वर्ष अघि उक्त संस्थाको सदस्य बनेका उनी गुलाब सहकारीले समाजमा राम्रो योगदान गरेको बताउँछन् । बिना धितो निब्र्याजी र ससानो ऋण दिएर धेरै सदस्यहरुलाई माथि उठाउन खेलेको भूमिका संस्थाको राम्रो पक्ष भएको उनले बताए ।
कुनै सदस्यको घरमा सामाजिक क्रियाकलाप, विवाह, ब्रतबन्ध, पुजाआजा हुँदा अर्को सदस्यले उत्पादन गरेको वस्तु खरिद गराई स्वयं सदस्यहरुलाई नै लाभान्वित बनाउने संस्थाको लक्ष्य छ । त्यसैगरी संस्थाले सदस्यहरुलाई आवश्यक पर्ने बीउबीजन, मलखाद र भण्डारण केन्द्र समेत स्थापना गरी सेवा दिँदै आएको छ ।
संस्थाका व्यवस्थापक मुकुन्द पराजुलीले रुपन्देही भर कार्यक्षेत्र लिएर २०६९ सालमा २५ हजार शेयरपुँजीबाट शुरु गरिएको संस्थामा हाल पच्चीस सय सदस्य, ३ करोड शेयरपुँजी र १३ करोड लगानी पुगेको बताए । संस्थाले आफ्नै भवन समेत निर्माण गरेको छ ।
सदस्यहरुले उत्पादन गरेको धान सरकारी दररेटमा संस्थाले किनिदिने गरेकाले सदस्यहरु लाभान्वित भएका छन् । संस्थाले सदस्यका लागि एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको छ भने महिला शेयर सदस्यहरुलाई सुत्केरी हुँदा पोषण खर्च, मृत्यु राहत स्वरुप काजकिरिया खर्च, ज्येष्ठ नागरिकहरुलाई वार्षिक रुपमा पेन्सन जस्ता थुप्रै सुविधा प्रदान गर्दै आएको छ । सामाजिक कार्यमा पनि आफ्नो श्रोतसाधनले भ्याएसम्म संस्थाले सघाउने गरेको छ ।
