ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना भएको पाँचौं ललितपुर सहकारी समिट–२०८३ सम्पन्न भएको छ । “दिगो साकोस अभियानः प्रविधी, रुपान्तरण र सुशासन ” भन्ने नाराका साथ आयोजना गरिएको समिटले सात बुँदे घोषणापत्र जारी गरेको छ ।
असोज २ र ३ गते हेरिटेज गार्डेन, सानेपामा संचालित पाँचौँ ललितपुर साकोस समिट–२०८३ मा सहभागी सहकारीकर्मी, विषयविज्ञ तथा सरोकारवालाहरूको सामूहिक छलफलबाट सहकारी क्षेत्रको दिगो विकास, संस्थागत सुशासन र सदस्यको हित संरक्षणका लागि देहाय बमोजिमका ७ बुँदे साझा घोषणापत्र जारी गरिएको अध्यक्ष रामहरी बजगाईले बताए । साझा प्रतिबद्धतामा प्रारम्भिक सहकारी संस्थाहरु संचालनमा अव्यवहारिक देखिएका विद्यमान ऐन, कानुन र निर्देशन संशोधनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायमा नेतृत्वदाही भुमिका खेल्ने,सहकारी संस्थाहरुमा पारदर्शिता, जवाफदेहिता, प्रभावकारी आन्तरिक नियन्त्रण तथा उत्तरदायी नेतृत्वलाई संस्थागत गर्दै सहकारी प्रतिको जनविश्वास अभिवृद्धि र पुनर्जीवित गर्ने र सुरक्षित तथा सदस्य केन्द्रित डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग विस्तार गर्दै साईबर सुरक्षा, तथ्याङ्क संरक्षण र प्रविधिजन्य जोखिम न्यूनीकरणलाई प्राथमिकता दिईने उल्लेख छ ।
त्यसैगरी कर्जा सूचना केन्द्रमा आवद्धताको व्यवस्था भएता पनि कर्जा सूचना लिने दिने लगायतका कार्यहरु कार्यान्वयन नभएको हुदाँ कार्यान्वयन गर्न सम्बन्धित निकायसँग तत्काल पहल गर्ने साथै जोखिम रहित कर्जा प्रवाह, नियमित सदुपयोगिता जाँच तथा प्रभावकारी कर्जा असुली मार्फत निष्क्रिय कर्जा न्युनीकरण गर्ने,सञ्चालक समिति तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, व्यावसायिक दक्षता र संस्थागत उत्तराधिकारी योजना निर्माण गरी कार्यान्वयन गर्ने, सहकारी क्षेत्रमा देखिएका समस्या तथा संकटका कारणहरूको पहिचान गरी सुधारात्मक कार्ययोजना अवलम्बन गर्ने तथा सहकारी संघ संस्था, नियामक निकाय र सरोकारवालाबीच बहस पैरवी, समन्वय र सहकार्य सुदृढ गर्ने तथा प्रारम्भिक सहकारी संस्थाको व्यवसाय विकास, प्रवद्र्धन, शिक्षा तालिम र अनुगमनका लागि संघले मापदण्ड÷स्तरीकरण कार्यक्रम संचालन गर्ने साथै उक्त कार्यक्रममा प्रारम्भिक सहकारी संस्थाहरु सक्रिय रुपमा आवद्ध गर्ने घोषणा पत्रमा समेटिएको छ ।
कार्यक्रमको समापनको प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापगाई रहेकी थिइन् । उनले घोषणा पत्रमा जारी गरेको प्रतिवद्धतालाई व्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले प्रदेश सभामा सहकारी ऐन परिमार्जनमा आफुले भूमिका खेल्ने जनाइन् । सहकारी क्षेत्रले मुलुकको आर्थिक सामाजिक रुपान्तरणमा योगदान गर्दै आएकाले यो क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाएर लैजान आवश्यक रहेको बताइन् । जारी भएको घोषणा भएको प्रतिवद्धता पत्रलाई प्रदेश सरकारमा समेत छलफल गरी कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
नेपालपत्र संवाददाता