शनिबार, आश्विन १७ गते २०८३

निक्षेपको औसत ब्याजदर घट्यो, अधिकांश बैंकले गरे भदौकै दर कायम


भाद्र ३१, २०८३ बुधबार
निक्षेपको औसत ब्याजदर घट्यो, अधिकांश बैंकले गरे भदौकै दर कायम

 

काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग कमजोर हुँदा पछिल्ला महिनादेखि घट्दै आएको निक्षेपको ब्याजदर असोजमा तल्लो सीमातिर पुगेको छ । थप ब्याजदर घटाउँदा निक्षेपकर्ता निरुत्साहित हुन सक्ने देखिएपछि अधिकांश वाणिज्य बैंकले असोजमा भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

२० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत भदौको ४ दशमलव १३६ प्रतिशतबाट घटेर असोजमा ४ दशमलव ०८९५ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर ३ दशमलव ०८१ प्रतिशतबाट घटेर ३ दशमलव ०६६५ प्रतिशतमा आएको छ ।

औसत दर घटे पनि अधिकांश बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेका छैनन् । केही बैंकले दर घटाएका छन् । एभरेस्ट बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम दर ४ दशमलव ०५ प्रतिशतबाट ३ दशमलव ५० प्रतिशतमा झारेको छ । नबिलले ४ दशमलव ५५ प्रतिशतबाट ४ दशमलव २५ प्रतिशतमा घटाएको छ ।

असोजमा संस्थागत निक्षेपको ब्याजदर बढाउने बैंक भने सानिमा मात्र रहेको छ । उसले भदौको ३ दशमलव ३० प्रतिशतबाट बढाएर ३ दशमलव ५१ प्रतिशत पुर्‍याएको छ । व्यक्तिगत मुद्दतीमा भने ४ दशमलव ५० प्रतिशतकै दर कायम गरेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त र कर्जाको माग कमजोर रहेकाले बैंकहरूलाई निक्षेप तान्न ब्याजदर बढाउनुपर्ने दबाब छैन । तर ब्याजदर निकै घटिसकेकाले थप कटौती गर्दा निक्षेपकर्तामा असर पर्न सक्ने भन्दै बैंकहरूले दर स्थिर राख्न थालेका हुन् । अहिले व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशत हाराहारीमा र संस्थागततर्फ ३ प्रतिशत हाराहारीमा पुगेको छ।