भरपुर २१ चितवनमा रहेको प्रेरणा बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैबी उद्धार राहत कोषमा सहयोग गरेको हो । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरु राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको संस्थाले जनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा ५१ हजार १११ योगदान गरेको संस्थाका अध्यक्ष श्रीकान्त बरालले बताए । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति संस्थाको तर्फबाट गहिरो दुःख व्यक्त समेत गरेको उनको भनाई छ । संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै हातेमालो गरेको प्रमुख कार्यकारी अधिकृत गोविन्द सुवेदीले बताए । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उनले जानकारी दिए ।
विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ। संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नेपालपत्र संवाददाता