काभ्रे । जिल्ला सहकारी संघ, काभ्रेले ५९औँ स्थापना दिवसको अवसरमा पनौतीस्थित वृद्धाश्रममा सामाजिक सेवामूलक कार्यक्रम सम्पन्न गरेको छ। संघले पनौती नगरपालिका–९, त्रिवेणीघाटस्थित श्री प्राणनाथ माईती वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई भोजन तथा न्यानो जुत्ता वितरण गरेको हो।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई भोजन गराउनुका साथै चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो जुत्ता प्रदान गरिएको संस्थाले जनाएको छ ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण समाजको साझा दायित्व भएको बताउँदै सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे । स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले सहकारी संस्था र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै ज्येष्ठ नागरिकप्रति सम्मान तथा मानवीय सेवाको भावना प्रवर्द्धन गर्ने अपेक्षा गरिएको संघले जनाएको छ।
नेपालपत्र संवाददाता