हेटौंडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएकाहरुको उद्धार तथा पुन:स्थापनाको लागि आर्थिक सहयोग गरेको हो । संस्थाले उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । संस्थाका सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।
‘एक लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको भावनालाई आत्मसात गर्दै संस्थाले बाढी प्रभावितहरुको उद्धार तथा राहतमा सानो सहयोग गरेको जनाएको छ । बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुन: स्थापनाको लागि सम्बन्धित निकायबाट प्रभावकारी पहलको अपेक्षा संस्थाले गरेको छ।
संस्थाले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।
नेपालपत्र संवाददाता