चितवनको खैरहनी १० कठारमा रहेको श्री कठार मध्यवर्ति बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितहरुको राहत तथा पुनःस्थापनाको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितको उद्धार तथा पुनः स्थापनामा सहयोग पुर्याउने उदेश्यका साथै उद्धार कोषमा रकम जम्मा गरेको जनाएको छ । संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मानवीय र भौतिक रुपमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुनः स्थापनाको लागि सम्बन्धित निकायबाट प्रभावकारी पहलको अपेक्षा संस्थाले गरेको छ। संस्थाले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।
नेपालपत्र संवाददाता