शुक्रबार, कार्तिक ७ गते २०८३

हरिवन सहकारीद्वारा भोटेकोशी बाढी पीडितलाई आर्थिक सहयोग


भाद्र २३, २०८३ मंगलबार
हरिवन सहकारीद्वारा भोटेकोशी बाढी पीडितलाई आर्थिक सहयोग

 
 हरिवन ८ चापिनी सर्लाहीमा रहेको हरिवन बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढी प्रभावितलाई  आर्थिक  सहयोग गरेको छ । संस्थाले भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितहरुको उद्धार तथा पुन:स्थापनाको लागि आर्थिक सहयोग गरेको हो । संस्थाले  प्रधानमन्त्री  दैवी  उद्धार कोषमा  ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको जनाएको छ  ।

संस्थाका अध्यक्ष भरत कुमारी कार्कीले रसुवाको भोटेकोशीमा  आएको बाढीका कारण मुलुकका कतिपय जिल्लामा मानवीय  तथा भौतिक क्षति पुगेको र संस्थाले सामाजिक उत्तरदायित्व  अन्तर्गत सानो  रकम योगदान गरेको बताए । सरकारले सहकारी संघ संस्था, स्थानीय र प्रदेश सरकारसँग उद्धार कोषमा योगदान गर्न अपिल गरेको  र सोही अनुसार संस्थाले पनि योगदान गरेको  उनले जानकारी दिए ।

संस्थाका व्यवस्थापक तिलक प्रसाद खतिवडाले विपतको यस दु:खद घडीमा पीडित परिवारहरुप्रति गहिरो साहनुभूति व्यक्त गर्दै मानवीय सेवामा संस्थाले सक्दो सहयोग गर्ने बताए । उनले संस्थामा आवद्ध सदस्यहरुलाई समेत सकेको सहयोग गर्न र विपतमा हातेमालो गर्न आव्हान गरे । 

बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुनस्स्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने अपेक्षा  संस्थाले गरेको छ। संस्थाले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।