भक्तपुर । सुर्यविनायक नगरपालिका ५ मा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख ४० हजार ४ सय रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष टंकराज काफ्लेले बताए । उनका अनुसार सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति, उपसमितिहरु, सल्लाहकार, कर्मचारी र शेयर सदस्यहरुको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्दै पारिजात साकोसले राष्ट्रिय संकटमा सहयोग गरेको बताए ।
यसैगरी, संस्थाका निवर्तमान अध्यक्ष एवम् जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुव रायमाझीले विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिए । पूर्व अध्यक्ष रायमाझीले सहकारीको मूल मर्म, सिद्धान्त र धर्मले पनि राष्ट्रिय संकटको वर्तमान समयमा व्यक्तिगत एवम् संस्थागत रुपमा जे जति जसरी सकिन्छ गर्नुपर्ने भएकाले संस्थाले त्यही धर्म निर्वाह गरेको बताए । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
अध्यक्ष काफ्ले भने,‘ यो दु:ख घटनामा परी दिवंगत हुनुभएका सबैमा हार्दिक श्रद्धार्पण गर्दछौं र घाइतेहरुको शीघ्र उपचार, बेपत्ताहरुको खोजिमा प्राथमिक रुपमा सरकारको ध्यान जाओस् । सहकारी अभियानको तर्फबाट हामी पनि सरकारको प्रयासमा हातेमालो गर्न तयार छौं । साथै उहाँहरुले यस दु:खद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं।’ रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै राहत तथा पुन:स्थापनामा सहयोग गरेको छ ।
नेपालपत्र संवाददाता