महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले १ लाख १६ हजार ७५५ रुपैयाँ सहयोग गरेको छ । संस्थाले भोटकोशी बाढी पीडितको उद्धार तथा पुन:स्थापनाको लागि उक्त रकम सहयोग गरेको हो । हालै आएको विपतिले पुर्र्याएको क्षतिपछि उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ संस्थाले सकेको सहयोग गरेको हो ।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष निर्माण गरी संचालनमा ल्याएको र सोही कोषमा संस्थाले रकम सहयोग गरेको जनाएको छ । संस्थाले विपद् व्यवस्थापन कोषबाट ४५ हजार,सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमितिबाट प्रति व्यक्ति १ हजार र पूर्व ऋण उपसमिति सदस्यबाट ५ सय गरी १७ हजार ५ सय र कर्मचारीहरुबाट १ं ५ दिन बराबरको रकम २४ हजार २५५ संकलन गरेको छ ।
त्यसका साथै संस्थाबाट विभिन्न समयमा अवकाश लिएका कर्मचारी सरस्वती घलानबाट २० हजार र मिरा तामाङ्गबाट १० हजार गरी १ लाख १६ हजार ७५५ रुपैयाँ प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिएको संस्थाले जारी विज्ञप्तिमा जनाइएको छ । संस्थाले विपद्को कठिन घडीमा प्रभावित परिवारलाई साथ दिनु आफ्नो मानवीय तथा सामाजिक दायित्व भएको जनाएको छ। बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुन:स्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने अपेक्षा पनि संस्थाले गरेको छ।
नेपालपत्र संवाददाता