शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीबाट ऋण लिएको व्यक्ति संस्थाको सञ्चालक बन्न नपाउने


भाद्र २१, २०८३ आइतबार
सहकारीबाट ऋण लिएको व्यक्ति संस्थाको सञ्चालक बन्न नपाउने


सहकारी संस्थाबाट अधिक ऋण लिएका व्यक्ति सञ्चालक बन्न नपाउने भएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले एक सूचना जारी गर्दै  सहकारी संस्थाबाट थप ऋण लिएका व्यक्ति सञ्चालक बन्न नपाउने व्यवस्था गरेको हो ।

प्राधिकरणले सञ्चालक समितिको उम्मेदवार सम्बन्धमा एक  सूचना जारी गर्दै सहकारीमा सञ्चालक बन्न चाहनेले व्यवस्था गरिएकाे बाहेक कुनै प्रकारको ऋण लिन नपाउने र ऋण लिएको हकमा पनि चुक्ता नगरेसम्म सञ्चालक बन्न नपाउने व्यवस्था गरेको छ । प्राधिकरणका निर्देशक केशवराज भट्टराईले सूचना जारी गर्दै प्राधिकरणको २९ औं बैठकले यो निर्णय गरेको जनाएका छन् ।

‘सहकारी संस्था सञ्चालकहरुले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकिय मापदण्ड २०८२’ को परिच्छेद –३ को बुँदा न १.४ बमोजिम सञ्चालकले के कति ऋण लिन सक्ने हाे भनि व्यवस्था गरिएको छ । 

प्राधिकरणले जारी गरेको मापदण्डको परिच्छेद ३ को बुँदा नं. १.४ मा सञ्चालकले बुँदा नं १.३ बमोजिमको ऋण तथा आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋण (बुँदा नं २.१) बाहेक यो मापदण्ड लागू भएपछि कुनै प्रकारको थप ऋण लिन पाउने छैन भनि व्यवस्था रहेको छ।

त्यसैगरी बुँदा नं. १.३ मा संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा रु. तीन लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकममात्र बिना धितो ऋण प्रवाह गर्न सक्ने भनेको छ। यसरी बिना धितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरुको जमानी भने लिनुपर्ने व्यवस्था छ ।  

त्यस्तै, मापदण्डको बुँदा २.१ ले सदस्यले आफ्नो बचतको बढीमा ९० प्रतिशत रकम मात्र ऋण लिन पाउने व्यवस्था गरेको छ ।