शुक्रबार, कार्तिक ७ गते २०८३

मार्गदर्शन साकोसद्धारा बाढी पीडितको लागि १ लाख २९ हजार सहयोग


भाद्र १८, २०८३ बिहीबार
मार्गदर्शन साकोसद्धारा  बाढी पीडितको लागि १ लाख २९ हजार   सहयोग

चितवनको भरतपुर १६ फुर्तिचोकमा  मुख्य कार्यालय रहेको मार्गदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि  सहयोग गरेको हो ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २९ हजार १ सय २९ रुपैयाँ सहयोग गरेको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मार्गदर्शन साकोसले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको हो । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत  दीपक गौतमले जारी  विज्ञप्तिमा उल्लेख छ ।

विपत्तिमा परेका नागरिकको पीडामा मल्हम लगाउने उद्देश्यका साथ संस्था, समिति तथा उपसमिति एवम् कर्मचारीहरुबाट गरी उक्त रकम योगदान गरिएको  छ । सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।