बुधबार, भाद्र ३ गते २०८३

जिल्ला सहकारी संघ काभ्रेको शतप्रतिशत उपलब्धी, उत्पादनमुखी कार्यक्रमलाई जोड


श्रावण २३, २०८३ शनिबार
जिल्ला सहकारी संघ काभ्रेको शतप्रतिशत उपलब्धी, उत्पादनमुखी कार्यक्रमलाई जोड

बनेपा,  जिल्ला सहकारी संघ लि.काभ्रेले आर्थिक बर्ष  २०८२/८३ मा निर्धारित लक्ष्य अनुसार शतप्रतिशत उपलब्धी हासिल गरेको  छ। संघले आगामी आ.ब.२०८३/८४ का लागि सदस्यको अद्यावधिक विवरण संकलन, बचत तथा ऋण कारोबारको व्यवस्थापन, डिजिटाइजेसन, तालिम तथा उत्पादन र बजार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नीति, कार्यक्रम, कार्ययोजना तथा बजेट अघि सारेको छ।

संघको सभाहलमा  आज सम्पन्न आ.ब. २०८२/८३ को वार्षिक समीक्षा तथा आ.ब.२०८३/८४ को नीति, कार्यक्रम, कार्ययोजना तथा बजेट प्रस्तुतिकरण कार्यक्रम संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष श्रेष्ठ र संघका सल्लाहकार कमलप्रसाद कुइँकेलले संयुक्त रूपमा  दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। संघका सचिव प्रकाश बञ्जाराले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शान्ति लामा तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। 

कार्यक्रममा संघका का.मु. कार्यकारी अधिकृत सुजित श्रेष्ठले आ.ब. २०८२/८३ मा सम्पन्न कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दै संघले निर्धारण गरेको लक्ष्यमा शतप्रतिशत उपलब्धि हासिल भएको जानकारी गराएका थिए। साथै, आगामी आर्थिक वर्षका लागि सदस्य विवरण अद्यावधिक तथा व्यवस्थापन, बचत तथा ऋण कारोबारलाई व्यवस्थित बनाउने, संस्थागत कार्यमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने, संघलाई तालिम हबका रूपमा विकास गर्ने तथा उत्पादन र बजारीकरणलाई प्राथमिकता दिने लगायतका कार्यक्रम प्रस्तुत गरिएको थियो। 

प्रस्तुतिकरणपछि सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाको संघका अध्यक्ष, सचिव तथा का.मु.प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जवाफ दिएका थिए। कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको संघले जनाएको छ।

3d3a35b7-9c4d-4afb-8e62-85cd42406adb.jpg