चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले डिजिटल ग्रोथ अवार्ड २०२६ प्राप्त गरेको छ । संस्थाले सेवामा प्रविधिको प्रभावकारी उपयोग,डिजिटल वित्तीय समावेशीकरणको विस्तार तथा नवीन डिजिटल सेवाहरुमा पुन्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै विश्व ऋण परिषद (ओकू) ले संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो ।
संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त अवार्डको बारेमा जानकारी दिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले विश्व ऋण परिषदले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरेको बार्षिक साधारणमा यो अवार्ड प्राप्त गरेको बताए । उक्त अवार्ड ओकूले वार्षिक रुपमा प्रदान गर्ने विश्वस्तरीय पुरस्कार भएको उनले बताए । राष्ट्रिय तथा क्षेत्रीयस्तरका बचत संघ र प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाले अवार्डको लागि आवेदन दिन सक्ने उनको भनाई छ । प्रविधिको प्रयोग गरी वित्तीय समावेशीतालाई जोड दिनुपर्ने,इनोभेसनको क्षेत्रमा काम गनुपर्ने र सेवामा विस्तार योग्यता भएका संस्थाहरुले यो अवार्डको लागि आवेदन दिन सक्ने उनको भनाई छ ।
प्रारम्भिक सहकारी संस्थाहरु मध्ये यो अवार्ड यो बर्षका नेपालले जित्न सफल भएको उनले बताए । अवार्डलाई उनले चन्द्रागिरि एक्लैको प्रयासले मात्र नभई सहकारी अभियानको साझा उपलब्धीको सज्ञा दिए । सन् २०२१ देखि डिजिटल ट्रासफरमेशनलाई जोड दिन ओकूले यो अवार्ड स्थापना गरेको र डिजिटल रुपान्तरण र सदस्य सेवा नवप्रर्वतन तथा वित्तीय समावेशी विस्तारलाई योगदान पुन्याएका संस्थाहरुलाई अवार्ड प्रदान गरिदै आएको छ । संस्थाले वित्तीय समावेशीता अन्तर्गत महिला, युवा,अल्प संख्यक र फरक क्षमता भएकाहरुलाई समावेश गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी वित्तीय सेवाबाट बन्चित समुदायमा पुग्ने गरी प्रविधिको प्रयोग भए वा नभएको,प्रविधि प्रयोगले लागत घटाएको छ की छैन र संस्था सञ्चालनलाई व्यवस्थित गर्न सकेको छ वा छैन एवं संस्थाबाट लिने सेवामा सदस्यले गुणस्तरीयताको महशुश गरेका छन् की छैनन् भन्ने जस्ता कुरालाई आधार बनाएर अवार्ड प्रदान गर्ने गरेको पत्रकार सम्मेलनमा उनले जनाए ।
संस्थाले प्रयोग गरेको प्रविधि अन्य संघ संस्थाले समेत प्रयोग गर्न सक्छन् की सक्दैनन् भन्ने जस्ता कुरा मापदण्डका रुपमा रहेको सिईओ श्रेष्ठले बताए । संस्थाले आवश्यक कागजात तयार गरी प्रतिस्पर्धाको लागि आवेदन दिएको र त्यसको लागि नेफ्स्कूनले सहजीकरण गरेको उनको भनाई छ । अवार्ड प्राप्त गरेको विषयमा दुई महिना अगाडि नै संस्थालाई जानकारी प्राप्त भएको भए पनि ओकूले घोषणा नगरी संस्थाले बाहिर नल्याएको उनले जानकारी दिए । विश्वबाट ३ वटा संस्थाले यो अवार्ड प्राप्त गरेका छन्, जसमा नेपालबाट चन्द्रागिरि सहकारी,भेयतनामको को अपरेटिभ बैंक र कोष्टारिकाको विङ्क भन्ने संस्था रहेको छ । अवार्डले विश्वभरका बचत तथा ऋण सहकारीलाई प्रविधिमा लगानी गर्न प्रेरित गरेको उनले जनाए । चन्द्रगिरि साकोसको लागि डिजिटल ग्रोथ प्रविधि मात्र नभएको र समावेशीकरण, नवप्रवर्तन र सदस्य केन्द्रीत सुविधाहरुको रुपमा लिएको उनले प्रतिक्रिया दिए ।
चन्द्रागिरि साकोस स्थापनाको २५ बर्षमा पुगेको छ भने संस्थाले सदस्यहरुलाई सामाजिक सुरक्षा,सुरक्षित मातृशिशु कार्यक्रम, घातक रोग उपचार र एम्बुलेन्स सेवा,स्वास्थ्य उपचार जस्ता सामाजिक सुरक्षा सेवा प्रदान गर्दै अएको छ । संस्थाले मोबाइल बैकिङ्ग सेवा, एटिएम सेवा, ई टेलर,क्युआर भुक्तानी जस्ता डिजिटल सेवा प्रदान गर्दै आएकाले यो अवार्ड प्राप्त गर्न सफल भएको हो । संस्थाको शेयर पुँजी २२ करोड ९२ लाख,जगेडा कोष ११ करोड २९ लाख, कुल संस्थागत पुँजी १३ २४ लाख, बचत संकलन ३ अर्ब ९ करोड र ऋण लगानी २ अर्ब २८ करोड गरी कुल सम्पत्ति ३ अर्ब ८१ करोड रहेको छ । संस्थामा २४ हजार २ माथि सदस्य आवद्ध रहेका छन् ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरिको उपलब्धि फेडेरेशनका लागि पनि गौरवको विषय भएको बताए । भोलि अरु संस्थाले पनि यो अवार्ड पाउलान् तर चन्द्रागिरिले भने पहिलो भन्ने इतिहास रच्न सकेको उल्लेख गरे । त्यसैगरी नेफस्कूनका सिईओ डा शिवजी सापकोटाले यो अवार्ड चन्द्रागिरि साकोसको लागि मात्र होइन नेपालको साकोस अभियानकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए । संस्थाले सोही अवसरमा सार्वजनिक यातयातलाई सहज बनाउन यात्रा कार्ड र किसान नेट सुविधा सञ्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष शिवशंकर मानन्धरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालपत्र संवाददाता