ललितपुर महानगरपालिका वडा नं. ११ मा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा कार्यालय स्थानान्तरण सँगै बचत र ऋणको नयाँ प्रडक्ट समेत ल्याएको छ । संस्थाकी अध्यक्ष शान्त कुमारी खड्गी सहित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिले सयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका थिए ।
बचत समुहबाट सुरु गरिएको र पछि गएर कानुनी मान्यता दिने उदेश्यका साथ सहकारी संस्थामा रुपान्तरण गरिएको अध्यक्ष खड्गीले जानकारी दिइन् । २०६७ सालमा समुहलाई सहकारी संस्थामा रुपान्तरण गरेको लामो समयसम्म सामुदायिक भवनबाट सेवा प्रदान गर्दै आएको उनले जनाइन् । सदस्यहरुको वृद्धिसँगै कार्यालय सञ्चालनका लागि असहज भएपछि संस्था स्थानान्तरण गर्नु परेको उनले बताइन् । संस्थालाई व्यवसायिक रुपमा सञ्चालन गर्न, बचत संकलन तथा ऋण लगानीका लागि ठाउँको अभाव हुनुका साथै सञ्चालक समितिलाई बैठक बस्न समेत समस्या भएकाले कार्यालय सार्नु परेको उनको भनाई छ । नयाँ ठाउँमा कार्यालय स्थानान्तरण गरी सदस्यहरुलाई सहज र सरल रुपमा सेवा दिने उदेश्य संस्थाको रहेको उनले जनाइन् ।
त्यसैगरी संस्थाले स्थापना दिवसकै अवसरमा बचत तथा ऋणको नयाँ प्रडक्ट समेत सञ्चालनमा ल्याएको छ । बाल बचतकर्तालाई लक्षित गरी संस्थाले कोपिला बचत सञ्चालनमा ल्याएको र ५ बर्षसम्म निश्चित रकम जम्मा गर्नुपर्ने छ । यस अघि १५ बर्षे अवधिको खुत्रुके बाल बचतकर्ता सञ्चालनमा रहेको र लामो समयसम्म बचत गर्नुपर्ने भएकाले सदस्यले चाहेको समयमा बचत झिक्न नमिल्ने भएकाले अहिले ५ बर्षे अवधिको बचत योजना सञ्चालनमा ल्याइएको हो । बाल सदस्यहरुको शिक्षाम सहयोग पुगोस् भन्ने उदेश्यले नयाँ स्कीक सञ्चालनमा ल्याइएको र यस स्कीममा बाल सदस्यहरुले मासिक रुपमा न्युनतम पाँच सयदेखि माथि जति पनि रकम बचत गर्न सकिने छ ।
सुरुमा ५ सय बचत गर्यो भने बर्षभरी नै ५ सय बचत गर्नु पर्ने र अर्को बर्ष १ हजार बचत गर्छु भन्दा पनि पाइने संस्थाले जनाएको छ । त्यस बाहेक संस्थाले कर्जाको ३ वटा स्कीम पनि सञ्चालनमा ल्याएको छ । व्यवसाय विस्तार कर्जा,महिला उद्यमशीलता कर्जा र आपतकालिन कर्जा गरी ३ प्रकारको ऋणको स्कीम संस्थाले सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत सदस्यहरुले क्रमशः ३ लाख, २ लाख र १ लाख कर्जा सहुलियत ब्याजदरमा पाउने भएका छन् । महिला उद्यमशीलता कर्जा ३ बर्ष, आपतकालिन कर्जा १ बर्ष र सदस्यहरुको व्यवसाय विस्तार गर्न सहयोग पुर्याउन २ बर्षको लागि व्वयसाय कर्जा सञ्चालनमा ल्याइएको हो । महिला सहकारी भएकाले संस्थाले सामुहिक जमानीमा मात्र ऋण प्रदान गर्ने र शेयर तथा बचतको कारोबारको आधारमा ऋण लगानी गर्ने अध्यक्ष खड्गीको भनाई छ ।

सहकारीप्रति नकरात्मक भावना समाजमा विकास भएको अवस्थामा पनि सदस्यहरुले गरेको विश्वासका कारण संस्थालाई निरतन्तर अगाडि बढाउन सकेको उनको भनाई छ । बचत तथा ऋणको कारोबार गर्न सदस्यहरुले कुम्भेश्वर सहकारीलाई नै रोजेको र हालसम्म संस्थामा ९ सय सदस्य आवद्ध रहेको उनले जानकारी दिइन् । कुनै समय घरभित्र सीमित रहेका महिलाहरु सहकारी कै कारण उद्यम व्यवसाय गरी अहिले आर्थिक रुपमा सबल बनेका छन् । संस्थाको शेयर पुँजी १ करोड ५० लाख,बचत संकलन १४ करोड र ऋण लगानी २१ करोडको हारहारीमा रहेको छ । संस्थाले सदस्यहरुलाई लक्षित गरी मासिक बचतका साथै सुनौलो भविष्य, भ्रमण, भविष्य र पेन्सन जस्ता बचत खाता सञ्चालन गर्दै आएको छ । संस्थाले नयाँ सदस्य बनाउँदा र ऋण लिँदा वित्तीय साक्षरता मार्फत् सहकारीको महत्व र ऋण सदुपयोगिताको बारेमा जानकारी दिने गरेको छ । कोभिडको समयमा संस्थाको ऋण असुलीमा समस्या भए पनि अहिले बचत संकलन र ऋण लगानीमा कुनै समस्या नरहेको उनले बताइन् ।

नेपालपत्र संवाददाता