बुधबार, भाद्र ३ गते २०८३

बागमती प्रोस्कूनद्वारा नवदुर्गा साकोसका सिईओ तिमल्सिना पुरस्कृत


श्रावण १४, २०८३ बिहीबार
बागमती प्रोस्कूनद्वारा नवदुर्गा साकोसका  सिईओ तिमल्सिना पुरस्कृत

काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिना पुरस्कृत भएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले ७ औं स्थापना दिवस तथा ६ औं वार्षिकोत्सवको अवसरमा बागमती प्रदेशकै उत्कृष्ट सिईओको रुपमा तिमल्सिनालाई सम्मान तथा पुरस्कृत गरेको हो ।

संघका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश, भौतिक पूर्वधार विकास मन्त्री विना रायमाझी पौडेलले सिईओ तिमल्सिनालाई सम्मान तथा पुरस्कार प्रदान गरेकी थिइन् ।  २०६१ सालमा श्री नवदुर्गा साकोसको कर्मचारीको रुपमा सहकारी क्षेत्रमा प्रवेश गरेका उनले यस क्षेत्र दुई दशक भन्दा लामो विताई सकेका छन् । व्यवस्थापनमा स्नाकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गरेका तिमल्सिना बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाढा रहेका विपन्न र न्युन आय भएका वर्गको सहकारी मार्फत् आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्ने बताउँछन् । 

सहकारी मार्फत् सदस्य र मुलुकको आर्थिक रुपान्तरण सम्भव भएको भन्दै उनले यो सम्मानले यहि क्षेत्रमा लागि रहन थप हौसला र उर्जा मिलेको बताए । गत बर्ष मात्रै जिल्ला सहकारी संघ  काभ्रेले उनलाई जिल्लाकै  सर्वोकृष्ट सहकारी कर्मचारी सम्मान  प्रदान गरेको थियो। सिईओ तिमल्सिनाले नेतृत्व गरेको सहकारी संस्थामा १० हजार ३ सय माथि शेयर सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति १ अर्ब २३ करोड नाघेको छ ।