बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले ७ औं स्थापना दिवस तथा ६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । संघका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश, भौतिक पूर्वधार विकास मन्त्रालयकी मन्त्री विना रायमाझी पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा विभिन्न विधामा बर्ष उत्कृष्ट संघ /संस्था तथा व्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
बागमती प्रोस्कूनले सदस्य संस्थामध्ये उत्कृष्ट सहकारी संस्थाको रुपमा धादिङको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको छ । त्यसैगरी उत्कृष्ट सञ्चालक सम्मान आमा साकोसका अध्यक्ष राम बहादुर कटुवाल,उत्कृष्ट व्यवस्थापक सम्मान नवदुर्गा साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिना, पूर्व सञ्चालक सम्मान प्रोस्कूनका पूर्व सञ्चालक चक्र बहादुर बस्नेत र उत्कृष्ट कर्मचारी सम्मान प्रोस्कूनका सहायक विभागिय प्रमुख, वित्त, प्रशासन तथा संस्थागत सेवा विभागका शिवप्रसाद शर्मालाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट लगानीकर्ता सम्मान ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ,सक्रिय सेवा उपभोग सम्मान गन्तव्य साकोस ललितपुरलाई प्रदान गरिएको छ ।
संघको आव्हानमा गरिएको टिकटक प्रतियोगितामा व्यक्तितर्फ ज्योति मिर्मिरे साकोस काभ्रेका व्यवसाय सहायक सुदिप तिमल्सिना,प्रथम भएका छन् भने संघ संस्थातर्फ जनकल्याण साकोस, सिन्धुली, द्धितिय र दिपमाला महिला साकोस, सिन्धुली, तृतिय भएका छन् । कार्यक्रमको प्रमुख अतिथि मन्त्री रायमाझीले सम्मान तथा पुरस्कार प्रदान गरेकी थिइन् । संघकी सञ्चालक तथा सम्मान तथा पुरस्कार वितरण छनोट उप समिति सदस्य शान्तलक्ष्मी खड्गीले पुरस्कार तथा सम्मान घोषणा गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले समस्याग्रस्त र सही तरिकाले चलिरहेका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताइन् । प्रदेशमा रहेका सहकारीका समस्या समाधान गर्न सहकारी ऐन संशोधनको चरणमा रहेको उनले उल्लेख गरिन्। संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको र छिट्टै प्रदेश सभाबाट पनि पारित हुने विश्वास उनले व्यक्त गरिन्। उनले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी प्रदेश सहकारी ऐन संशोधन थालिएको जानकारी दिइन्। उक्त संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको भन्दै उनले सरोकारवालाको सुझावका आधारमा ऐन संशोधन प्रस्ताव गरिएको र त्यो छिट्टै आउने जानकारी दिइन् । संघका अध्यक्ष सापकोटाले शिक्षा, तालिम तथा स्तरीकरण कार्यक्रममार्फत् सदस्य संस्थाहरुको वृद्धि विकासमा काम गर्दै आएको बताए ।
नेपालपत्र संवाददाता