बुधबार, भाद्र ३ गते २०८३

अनमोल साकोसको आयोजनामा प्राथमिक उपचार तथा गुप्तरोग सम्बन्धी सचेतना कार्यक्रम आयोजना


श्रावण ६, २०८३ बुधबार
अनमोल साकोसको आयोजनामा प्राथमिक उपचार तथा गुप्तरोग सम्बन्धी सचेतना कार्यक्रम आयोजना

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा प्राथमिक उपचार तथा गुप्तरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तथा एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा सचेतना कार्यक्रम  सम्पन्न भएको हो।

कार्यक्रममा वडा नम्बर २१ र २२ का स्थानीयवासीलाई प्राथमिक उपचार तथा गुप्तरोग सम्बन्धी जानकारी दिइएको थियो । प्रशिक्षक पिताम्बर कोइरालाले दुर्घटना वा आकस्मिक स्वास्थ्य समस्या पर्दा एम्बुलेन्स वा स्वास्थ्यकर्मी नआउँदासम्म सही तरिकाले प्राथमिक उपचार गर्न सके बिरामीको ज्यान बचाउन सकिने बताए । उनले  घाउ–चोट, रक्तश्राव, हड्डी भाँचिएको अवस्था, बेहोस हुने, सर्पदंश लगायतका घटनामा अपनाउनुपर्ने प्राथमिक उपचारका उपायबारे जानकारी दिएका थिए । त्यसैगरी प्रशिक्षक आयुष्मा भट्टराईले यौनजन्य रोगका कारण, लक्षण, रोकथामका उपाय तथा समयमै स्वास्थ्य परीक्षण र उपचारको महत्वबारे जानकारी दिइन्। उनले गुप्तरोग लुकाएर बस्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परामर्श र उपचार लिन आग्रह गर्दै सुरक्षित व्यवहार अपनाउनुपर्नेमा जोड दिइन् ।

 अनमोल साकोसका अध्यक्ष बिनयकुमार साहको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुबास श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सचेतना नै रोग रोकथामको सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । उपचार र स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान आवश्यक रहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायलाई सुरक्षित, सचेत र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुलाई लक्षित गरी यस्ता कार्यक्रमहरु गर्दै आएको जनाएको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि श्री थानी आधारभूत विद्यालयमा सिसी क्यामरा जडानको लागि आर्थिक सहयोग गरेको थियो ।