बुधबार, भाद्र ३ गते २०८३

शुभप्रवा सेभिङ्ग सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध


श्रावण ६, २०८३ बुधबार
शुभप्रवा सेभिङ्ग सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

चुच्चेपाटी चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को – अपरेटिभले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘संस्था सञ्चालन इजाजत’ प्राप्त गरेको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थालाई इजाजत प्रदान गरेको प्राधिकरणले जनाएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुले अनिवार्य रुपमा प्राधिकरणबाट लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ । डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको उक्त संस्थाको कार्यक्षेत्र काठमाडौं जिल्लाभर रहेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्न प्राधिकरणबाट इजाजत प्राप्त गरेको उक्त संस्थाको इजाजतपत्र नं.२०६७ –०३३८२ रहेको छ ।

संस्थाले प्राधिकरणबाट इजाजतपत्र पाएसँगै कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको छ । अन्य बैंक तथा वित्तीय संस्था र सहकारीलाई जस्तै शुभप्रवालाई पनि कर्जा सूचना सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्ने केन्द्रले जनाएको छ । केन्द्रमा आवद्ध भएसँगै  ऋण लगानी र असुलीलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले प्राधिकरण र कर्जा सूचनामा दर्ता भएकाले संस्थाको सेवालाई अझ परिष्कृत गरेर लैजान सहयोग पुग्ने बताए । उनले संस्था दुई निकायमा दर्ता भएसँगै वित्तीय कारोबारलाई थप सुरक्षित र व्यवस्थित गरेर लैजान मद्दत मिल्ने प्रतिक्रिया दिए ।

त्यसैगरी संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरणले समग्र सुचांकहरु बलियो देखाएको छ । संस्थाको शेयर पुँजी १० करोड ७८ लाख र जगेडा कोष ४ करोड ७५ लाख पुगेको छ । यो संस्थाको बलियो पक्ष हो । त्यसैगरी कुल संस्थागत पुँजी ४ करोड ८३ लाख ९८ हजार र विभिन्न कोषहरुमा ८ करोड ५१ लाख ७८ हजार पुगेको संस्थाले असार मसान्तसम्म ८८ करोड ४ लाख बचत संकलन गर्न सफल भएको छ । त्यस अवधिमा संस्थाले ७४ करोड ५६ लाख ऋण लगानी गरी कुल सम्पत्ति १ अर्ब १७ करोड १६ लाख पु¥याएको छ । १ हजार ८०८ जना शेयर सदस्य रहेको संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै आएको छ ।