घरजग्गा कारोबारबाट सरकारले ६१ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले देशभरको कारोबारबाट सो मात्रामा राजश्व संकलन गरेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षकोअसार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व सङ्कलन भएको छ । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने भएपछि असारमा कारोबार वृद्धि भएकाले राजश्व संकलनमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार गत वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो ।
विभागका अनुसार २०८२ साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर ३ अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँ मात्रै प्राप्त भएको थियो । यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो ।
गत मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ, पुसमा ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ र फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।
बद्रीनाथ अधिकारी