बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्ने भएको छ ।
समस्याग्रस्त घोषित सिभिल सहकारी संस्था, दर्शन सहकारी संस्था, सुमेरु सहकारी संस्था, नेशनल नमोबुद्ध सहकारी संस्था र लालीगुराँस सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिए । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता गर्ने भएका छन् ।
केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो । बचतकर्तालाई रकम फिर्ता गर्न करिब रु नौ करोड जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउने भएका छन्।
नेपालपत्र संवाददाता