सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतमले सहकारी क्षेत्रमा पुनर्जागरण आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २४औं स्थापना दिवसको अवसरमा आयोजित ‘सहकारी पुनर्जागरणः चुनौतीलाई अवसरमा बदल्ने रणनीति कानुनी परिवर्तन र समाधानको योजना’ विषयक प्रदेशस्तरी गोष्ठीमा बोल्दै सहकारीमा पुनर्जागरण आवश्यक छ भन्ने विषय सहकारी बैंकले उठान गर्नु सकरात्मक भएको उल्लेख गरे ।
उनले सहकारीका मूल्य, मान्यता, सिद्धान् र दर्शन पालना नगरेकै कारण समस्या आएको बताए । ‘केही न केही त समस्या छ नि त ? ’उनले भने, ‘त्यही भएर पुनर्जागरणको आजको विषय सान्दर्भिक पनि छ । मलाई असाध्यै मनपर्यो । ’उनले कतिले त सहकारी क्षेत्रमा पुनर्जागरण आवश्यक छैन भन्ने गरेको भन्दै प्रश्न गरे, ‘त्यसो भए के त लाखौं सहकारी पीडितहरु, पीडित नै होइनन त ?’ सहकारीमा हिजो अवस्था राम्रो थियो, बीचमा समस्या आयो र अब पुनर्जागरण आवश्यक छ भन्ने विषय बैंकको कार्यक्रमले पनि पुष्टि गरेको उनको भनाई छ । रजिष्ट्रार गौतमले भने, ‘सहकारी क्षेत्रमा पुनर्जागरण आवश्यक छ ।
‘कहीँकतै कमजोरी भयो अब सुधार गरेर जानुपर्छ।’ अहिले सहकारी पीडितहरु र उनीहरुका आफन्तले सहकारीका सम्बन्धमा दिएको मेसेजको प्रभाव के कस्तो होला भन्नेतर्फ अभियानले मनन नै नगरेको उनको जिकिर छ । ‘सहकारी पीडित लाखको संख्यामा होलान् । उनीहरुले सहकारीका बारेमा दिने मेसेजले हामीले विश्वास आर्जन गर्न नसकेको कुरा त हो नि,’ उनले भने, ‘त्यसैले पनि पुनर्जागरण आवश्यक छ । हामी नियामकहरुले पनि महशूस गरेको विषय हो यो ।’ सहकारीको तथ्याङ्क यकिन नहुँदा मुलुकमा कति सहकारी संस्था छन् भन्न नसकेको उनले बताए ।
त्यसको कारण अरु नभई अभियानकै कारण भएको उनको तर्क छ । ‘कोपोमिसमा तथ्याङ्कहरु अपडेट गरिदिए त हामी त्यही लिएर हिड्थ्यौ नि , ’ रजिष्ट्रार गौतमले प्रश्न गरे, ‘किन हामी हाम्रो तथ्याङ्क समेत इन्ट्री गर्न सक्षम छैनौं वा राज्यलाई हाम्रो तथ्याङ्क देखाउन मिल्दैन ? यो प्रश्न मैले अभियानलाई गरिरहेको छु । महासंघलाई प्रश्न हो । राज्यले बनाएको सिष्टममा इन्ट्री गर्न हामी सक्दैनौं भने मूल्य,दर्शन र सिद्धान्तको गरेर भाषण गरेर के होला ?’
अब राम्रो गर्ने सहकारीलाई प्रोत्साहनसँगै गलत गर्नेलाई शुद्धीकरणमा जानुपर्नेमा जोड दिए। ‘दोहोरो तेहेरो सदस्यतालाई मात्र नियन्त्रण गर्न सकियो भने सहकारीहरु आफै मर्ज हुन्छन्, उनले भने, ‘के गर्ने होला त ? हामी तयार छौ त ? एनआइडी र प्यान नम्बर हालेर हामी तथ्याङ्क अद्यावधिक गर्न सक्छौं त ? अब हामी त्यो मिशनमा लाग्छौ है । तपाईहरुको साथको लागि आग्रह गर्छु। टालटुले प्रवृत्तिले समस्या समाधान भन्दा झन थपिँदै जाने निश्चित छ।’
सहकारी बैंकको ३८ प्रतिशत एनपील राम्रो नभएपनि बैंकले वास्तविकता जस्ताको तस्तै राखेको भन्दै अब आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुशासनका स्थापित मानकहरु प्रारम्भिक संस्थातर्फ पनि प्रसारण आवश्यक भएको उनको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी नियमण प्राधिकरणका कार्यकारी निर्देशक राम कुमार महतोले समस्याग्रस्त सहकारीको व्यवस्थापन सरकारको प्राथमिकता रहेको बताए । अहिलेको मुख्य चुनौति पीडित बचतकर्ताको बचत फिर्ता रहेको भन्दै उनले सबै पक्ष मिलेर यो समस्या समाधान गर्नुपर्नेमा जोड दिए । प्राधिकरण स्थापना भएको लामो समय नभएको भन्दै निर्देशक महतोले आन्तरिक व्यवस्थापनमा थुप्रै काम गर्न बाँकी रहेको उल्लेख गरे । अहिले पनि सयौं सदस्यहरु बचत फिर्ताको गुनासा लिएर आउने गरेको र उनीहरुको उजुरी सुन्ने काम हुँदै आएको बताए । सहकारीबाट लाखौं बचतकर्ता पीडित भएको र उनीहरुलाई कसरी न्याय दिने भन्ने विषय मुख्य रहेको उनको तर्क छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डा. रमेश चौलागाईंले “सहकारीको परिवर्तित नियामकीय कार्यदिशा“ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले “सहकारी बैंकः विगतदेखि वर्तमानसम्म“ विषयमा प्रस्तुतीकरण गरेका थिए।
बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले कार्यक्रमको समापन गर्दै सहकारीप्रतिको गलत भाष्य चिर्न सफलताका कथाहरु प्रस्तुत गर्नुपर्ने बताए । सहकारी क्षेत्रमा सबै बदमास भए भन्ने भाष्य समाजमा रहेको भन्दै उनले त्यसलाई चिर्न पनि सफलताका कथाहरु बाहिर ल्याउन आवश्यक रहेको जोड दिए । उप्रेतीले बैंकले यो वर्ष पनि लाभांश दिन नसक्ने भन्दै अर्को वर्षबाट वित्तीय अवस्थामा सुधार आई प्रतिफल दिन सकिने जानकारी दिए। अध्यक्ष उप्रेतीले भने, ‘हामीले कमी कमजोरी जस्ताको तस्तै राखेका छौं, वित्तीय अवस्था स्पष्ट रुपमा बाहिर ल्याएका छौं । भाखा नाघेको ऋण ३८ प्रतिशत हुँदा पनि हामीले खुल्लमखुल्ला सार्वजनिक गरेका छौं । रियल पोजिशन यही हो । तर, हामी सुधार गर्दैछौं । विगतमा तयार गरिएका सुधारको योजनाको जगमा उभिएर अहिलेको समिति योजनाबद्ध ढंगले अघि बढेको छ । अब नियामकीय सकारात्मकताका लागि आग्रह गर्छौं । कानूनी वातावरण बनाइदिन आग्रह गर्छौं ।’
त्यसैगरी, सहकारी क्षेत्र दलदलमा फस्यो, समस्यै समस्या आए अब यसबाट निस्कन सक्ने केही उपाय छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उनेले ‘के त्यस्तै हो त ? सहकारी क्षेत्रको पुनर्जागरणको सम्भावना छैन? यसलाई अब बहसको विषय बनाउनुपर्ने बैंकले गरेको जनाए । सहकारी क्षेत्रका समस्याको समाधान के छ भन्ने विषयबाट छलफल गर्न स्थापना दिवसको अवसरमा गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए । सहकारी संघ संस्थाको यथार्थ अवस्था बाहिर ल्याउन र कमजोर भएको कुरा सुधार गरेर जान सबैलाई उनको आग्रह छ । बैंकले सातै प्रदेशमा गोष्ठीको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
नेपालपत्र संवाददाता